Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योतिले मनायो १२औं वार्षिकोत्सव

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १२औं वार्षिकोत्सव मनाएको छ। हालको कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलादीस्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि अझ सफलताउन्मुख हुने र समाजको वृहत्तर हितको लागि योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । समारोहमा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनले ज्योति विकास बैंकले केन्द्रको परियोजनामा गरेको सहयोग उदाहरणीय रहेको र यस सहयोगले राष्ट्रिय आविष्कार केन्द्रको लागि संस्थागत साझेदारीको बाटो खोलिदिएको बताए ।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ जसमा ३४ जना व्यक्तिले रक्तदान गरेका छन्। सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको “न्यानो नानी” परियोजनाको लागि सहयोग प्रदान गर्ने निर्णय गरेको छ। नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १० वटा “न्यानो नानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको हो । बैंकको तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले राष्ट्रिय आविष्कार केन्द्रको “न्यानो नानी” परियोजनाको लागि रु ८ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंक अझ सफल रुपमा विस्तारित हुंदै ग्राहक, शेयरधनी र कर्मचारीको उज्ज्वल भविष्यको लागि निरन्तर प्रयास गरिने बताए । अध्यक्ष खड्काले बैंकले हालको कोभिड महामारिलाई मध्यनजर गरी ल्याएको कर्जाको व्याजमा २५ छुटको व्यवस्थालाई बिना कुनै शर्त सम्पूर्ण कर्जाग्राही ग्राहकहरुलाई दिइसकेको जानकारी दिए । १२ औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल प्रविधिमार्फत ४ वटा नयाँ शाखाको पनि औपचारिक उद्घाटन गरेको छ। कार्यक्रमका विशिष्ट अतिथि हरि प्रसादले बैंकको केन्द्रीय कार्यालयबाटै डिजिटल प्रविधिमार्फत सामरी, बेनी, बागलुङ, फुटुङ शाखा र घोराहि शाखास्थित बैंकको ६१औं डिजिटल उद्घाटन गरे ।