Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो

काठमाडौं । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ। टर्कीको विपदसम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको संख्या ६ हजार ९५७ रहेको छ। सिरियामा मृतकको संख्या पुष्टि गर्न कठिन भइरहेको छ। तर, सरकारी सञ्चारमाध्यमहरूले करिब २ हजार ५ सय जनाले ज्यान गुमाएको उल्लेख गरेका छन्। विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय ह्वाइट हेल्मेट रेस्क्यु ग्रुपले मृतकको संख्या १ हजार २८० भन्दा बढी पुगेको जनाएको छ। सहायता संस्थाहरूले भग्नावेशषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन्। मृतकको संख्या अझै बढ्नसक्ने चेतावनी दिइएको छ। अत्याधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ। सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिइ उद्धार कार्यमा खटिएका छन्। टर्कीमा सोमबार बिहान पहिलोपटक ४ बजे १७ मिनेटमा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७।५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन्।
टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास भइरहेको जनाएका छन्। तर, भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास ‘अपर्याप्त’ भएको जनाइरहेका छन्। नेपालको बारा जिल्ला घर भइ हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बताएका छन्। उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन अपिलसमेत गरेका छन्। यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ। ब्रिटेन, अमेरिका, चीन र रूसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन्। भूकम्पका कारण टर्कीको इस्केन्दरून बन्दरगाहमा आगलागी भएको थियो। अहिले आगो निभाइएको अधिकारीहरूले बताएका छन्। त्यहाँ रहेका कैयौं ढुवानी गर्ने कन्टेनरमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि विमान तथा हेलिकप्टर प्रयोग गरिएको थियो।