Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टर्की भूकम्पमा तीनजना नेपाली सम्पर्कबिहीन

काठमाडौं । हजारौंको ज्यान लिने गरी टर्कीमा गएको भूकम्पमा तीन जना नेपाली पनि सम्पर्क विहीन भएका छन् । भूकम्प प्रभावित क्षेत्र टर्कीमा रहेका ३ जना नेपाली सम्पर्कबिहीन भएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूलाई समन्वय गरिरहेका गैरआवासीय नेपाली संघ टर्कीका महासचिव विनोद पौडेललाई सम्पर्कमा आउन नसकेको ती नेपाली रहेका ठाउँबाट उनीहरूका सहकर्मीहरूले जानकारी दिएका हुन्। उनका अनुसार अनुसार हातया भन्ने क्षेत्रमा रहेका तीन जना नेपाली महिला सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूका बारेमा सोधिखोजी भइरहेको पौडेलले बताए। भुकम्प प्रभावति क्षेत्रबाट अहिलेसम्म १४ जना विद्यार्थी तथा ४ जना घरेलु कामदारहरू एनआरएनएको सम्पर्कमा छन्। उनीहरू सुरक्षित स्थलमा रहेको पनि पौडेलले जानकारी दिए।
उनका अनुसार हातया भन्ने ठाउँमा रहेका सपना तामाङ, सुनिता तामाङ र मिठु शेर्पा अहिलेसम्म सम्पर्कमा छैनन्। टर्कीमा कम्तीमा ३ हजारजति नेपाली विद्यार्थी र श्रमिकहरू रहेको अनुमान एनआरएनएले जनाएको छ। भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमध्ये यो पनि एक हो। सोमबार बिहान सिरिया र त्योसँगै जोडिएको दक्षिणपूर्वी टर्कीमा ७।९ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। अहिलेसम्म ५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धार तथा रातहकर्मीहरूले त्यसको कैयौं गुणा बढी मानिसको मृत्यु भएको आशंका गरेका छन्।
पहिलो धक्काको करिब १२ घण्टापछि अर्को शक्तिशाली भूकम्प त्योभन्दा पनि उत्तरी भेगमा गएको थियो। उद्धारकर्मीहरूले अत्याधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवित रहेकाहरूको खोजी गरिरहेका छन्। विश्वभरबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि पठाउने क्रम जारी छ। युएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पविदहरूले सोमबार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन्।
भूकम्प महसुस गरेर मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो। पहिलो भूकम्पनले सक्रिय तुल्याएको भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको थियो जसको केन्द्रविन्दु काह्रमानमरास प्रान्तको एल्बिस्तान जिल्लामा थियो। त्यस क्षेत्रभरी नै परकम्पहरू पटकपटक गइरहेका छन्। टर्की र सिरियाका प्रभावित क्षेत्रहरूमा ज्यान गुमाउने र घाइते हुने दुवैको संख्या तिब्र रूपमा बढ्दो छ। उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतकहरू फेला पारिरहँदा र भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या हालको दाँजोमा आठगुणासम्म बढ्नसक्ने चेतावनी डब्लुएचओले दिएको छ।
‘भूकम्प जाँदा दुर्भाग्यवश एक प्रकारका परिस्थिति दोहोरिन्छन्। मृतक र घाइते भएकाहरूको संख्याबारेका प्रारम्भिक विवरणमा केही सातापछि उल्लेख्य रूपमा वृद्धि हुन्छ,’ युरोपका लागि डब्लुएचओकी वरिष्ठ आपतकालीन अधिकारी क्याथरिन स्मलवुडले समाचार संस्था एएफपीलाई भनेकी छन्। स्मलवुडले हिउँ परिरहेको अवस्थाका कारण धेरै मानिसहरू आश्रयविहीन हुने र त्यसले जोखिमसमेत बढाउने बताएकी छन्। धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिसिरयामा छन् जहाँ लाखौं शरणार्थीहरू टर्कीसँगको सीमा क्षेत्रमा दुवै देशका भूभागमा रहेका शिविरहरूमा आश्रित छन्। विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा दर्जनौं मानिसको मृत्यु भएको बताइएको छ। दुवै देशका हजारौं भवनहरू ध्वस्त भएका छन्। थुप्रै भिडियोहरूमा ती भवन भत्किँदै गरेको दृष्य देखिन्छ। सडकहरू भत्किएका छन् र वरपरका भग्नावशेषका थुप्राहरू देखिन्छन्। ध्वस्त भएका भवनहरूमध्ये ‘गाजीयान्टेप कासल’ ऐतिहासिक महत्वको थियो जुन दुई हजार वर्षभन्दा पुरानो हो।
टर्कीको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र दक्षिण टर्कीमा ठूलो आगलागी भएको भिडियोहरू सार्वजनिक भएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ग्यास पाइपलाइनमा क्षति पुगेका कारण आगो लागेको दाबी गरेका छन्। टर्कीका ऊर्जामन्त्री फातिह डोएनमेजले पूर्वाधारमा गम्भीर क्षति पुगेको पुष्टि गरे तर विस्फोटबारे कुनै जानकारी दिएका छैनन्। टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्येको एकमा पर्दछ। सन् १९९९ मा टर्कीको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। सन् १९३९ मा टर्कीको पूर्वी एर्जिनजान प्रान्तमा भूकम्प जाँदा ३३ हजार मानिसको ज्यान गएको थियो र त्यसलाई सबैभन्दा विध्वंसकारी भूकम्प ठानिन्छ। टर्की रेड क्रिसेन्टले त्यहाँका सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। उक्त संगठनका अध्यक्ष केरेम किनिकले ट्विटरमा लेखेअनुसार प्रभावित क्षेत्रमा थप रगत र चिकित्सिकीय सामग्रीहरू पठाइँदैछ। टर्कीले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको टर्कीका राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले बताएका छन्।
युरोपेली संघले टर्कीमा खोजी तथा उद्धार टोली पठाइएको जनाएको छ। नेदरल्यान्ड र रोमानियाका उद्धारकर्मीहरू यसअघि नै प्रकोपस्थलतर्फ जाँदै छन्। ब्रिटेनले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाउने जनाएको छ। फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्की र सिरियालाई इरानले जस्तै सहयोगको प्रस्ताव गरेका छन्। ती सहरहरूमा कम्तीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ।