Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भदौ २३ गते भएको नरसंहारलाई अन्यत्रै मोडेर आफूलाई पानी माथिको ओभानो देखाउने प्रयासमा छन् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । जेन–जी विद्रोहपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला भक्तपुर गुण्डुमा छन्। भक्तपुरकै बालकोटमा रहेको घर जेन–जी प्रदर्शनकारीले आगजनी गरेपछि ओलीका लागि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिइदिएका छन्। सोही घरमा बसेर ओलीले पार्टीका नेताहरूलाई भेट्न बोलाइरहेका छन्। पालैपालो उनीहरूलाई भेटेर तिनको कुरा पनि बुझिरहेका छन्। चार दिनको अवधिमा उनले अधिकांश पदाधिकारीसँग भेट गरेर उनीहरूको राय बुझिसकेका छन्।
अहिले दिनहुँ उनलाई भेट्न बाक्लो संख्यामा नेता–कार्यकर्ता गुण्डु पुग्छन्। ओलीले सम्भव भएसम्मसँग भेट्छन् र नआत्तिन भन्छन्। उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन्। उनले पार्टीका पदाधिकारीलाई पालैपालो बोलाएका छन्। सोमबार सचिव लेखराज भट्टलाई भेटे। अध्यक्षसँग मेरो भेट भयो, समसामयिक विषयमा कुरा भयो, भट्टले भने। आइतबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई भेटेका थिए। जेन–जी विद्रोहको असर एमालेमा पनि परेको छ। ओलीले राजीनामा दिनुपर्ने कुरा पदाधिकारीले चर्कैसँग उठाएका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले त पहिला पनि उठाएकै हुन्। तर, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना लगायतले पार्टी अध्यक्षबाट राजीनामा गर्न सुझाव दिएपछि ओली दबाबमा छन्। त्यही भएर उनले पार्टी बैठक पनि राखेका छैनन्। भर्खरै विधान महाधिवेशन गरेर आफ्ना लागि तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खोलेलगत्तै नेताहरूले राजीनामा माग्न थालेपछि ओलीले पार्टीको बैठक राख्न नसकेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन्। तत्काल पार्टीको बैठक राख्नुपर्ने उनले बताइन्। भौतिक रूपमा सम्भव नभए अरु माध्यमबाट भए पनि दसैँअघि बैठक बस्नुपर्ने उनी बताउँछिन्। आफ्नै सरकारले गरेको दमनकै कारण ओली रक्षात्मक बनेको हुनसक्ने उनको भनाइ छ। स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम ओली परामर्शमै रहेको बताउँछन्। अर्का उपाध्यक्ष गुरु बरालओली आफ्नो काममा लागिसकेको दाबी गरे।
आफूलाई भेट्न आउने नेतालाई अध्यक्ष ओलीले ढाडस मात्र दिएका छैनन्, फेरि बलियो गरी उठ्ने बताएका छन्। ओलीले जेन–जी विद्रोहलाई सामान्य ढंगबाट हेर्न नहुने बताएका छन्। नेपालको भूराजनीतिमा विदेशी चलखेल बढेको र त्यसको विम्ब पछिल्लो घटनाक्रम भएको ओलीको भनाइ छ।जेनजी प्रदर्शनकारीले जलाइदिएपछि एमालेको कार्यालय टिमले नयाँ ठाउँ खोजिरहेको छ। एकदुई दिनभित्र के गर्ने भनेर कार्यालयले निष्कर्ष निकाल्ने प्रचार विभाग प्रमुख गौतम बताउँछन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल