Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ एक्सटर्सन गरी करोडौं रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो। तुल्सा भन्ने तुल्सी अधिकारीसहित अन्य सहयोगीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग सम्बन्धी कसूरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जाहेरीकर्ता कुमार चिमोरियाका अनुसार २०७५ सालदेखि सुरु भएको चिनजानपछि तुल्सी अधिकारीले आफूलाई विभिन्न बहानामा फसाई शारीरिक सम्बन्धको विषयलाई आधार बनाई निरन्तर ब्ल्याकमेल गर्दै आएको आरोप छ। उनले जबरजस्ती करणी मुद्दा हाल्ने धम्की दिँदै नगद, सुनका गरगहना, व्यवसाय स्थापना खर्च तथा अन्य शीर्षकमा ठूलो रकम असुल गरेको उल्लेख गरिएको छ। जाहेरीअनुसार प्रतिवादीले पटक–पटक डरत्रास देखाई नगद रकम, बैंक ट्रान्सफर तथा अन्य व्यक्तिमार्फत गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको रकम असुल गरेको दाबी गरिएको छ। साथै पसल खरिद, फ्ल्याट भाडा, छोरीको शिक्षाशुल्क, महँगा सामग्री खरिद लगायतमा समेत बाध्य पारेको आरोप छ। अनुसन्धानका क्रममा प्रतिवादीले विभिन्न व्यक्तिहरू प्रयोग गरी रकम संकलन गरेको, नगद लेनदेनलाई प्राथमिकता दिएको तथा बैंकिङ कारोबारलाई लुकाउने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले ललितपुरस्थित ‘तुल्सा कलेक्सन प्रालि’ मा खानतलासी गर्दा गरगहना तथा व्यापारसँग सम्बन्धित सामग्री बरामद गरेको छ भने उक्त कम्पनीमार्फत समेत आर्थिक गतिविधि सञ्चालन गरिएको पाइएको छ। घटनामा संलग्न केही प्रतिवादी हाल फरार रहेको जनाउँदै प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ।