Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकट नपाएपछि कता कता विद्रोह

काठमाडौं । उम्मेदवार दर्ता गर्ने बेलामा जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेर कतिपय नेताहरूलाई टिकट नपुगेपछि एमालेभित्र ‘विद्रोह’ सुरु भएको छ। निर्वाचन आयोगले आइतबार एकदिनमात्रै समय दिएर उम्मेदवारी दर्ता गर्न आह्वान गरिसकेको छ। त्यसको एकदिन अघि मात्रै नेकपा एमाले र जसपाबीच चुनावी तालमेलको सहमति भएको हो। यो सहमतिअनुसार जसपालाई एमालेले १७ निर्वाचन क्षेत्रमा सघाउनेछ। यो सहमतिसँगै एमालेका कतिपय नेताहरूले टिकट पाउन सकेनन्। टिकट नपाएर असन्तुष्ट भएका केन्द्रदेखि जिल्लासम्मका नेताहरूले राजीनामा घोषणा गरिरहेका छन्।
ओलीको ‘दम्भ र स्वेछाचारिता’भित्र एमाले पार्टी कैदी बनेको आरोप लगाउँदै एमाले नेता घनश्याम भुसालले शनिबार बिहानमात्रै पार्टी छोडेको घोषणा गरेका छन्। ‘म स्वंयले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’ भुसालले भनेका छन् ‘अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ। नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ।’ उनको गृहनगर रुपन्देहीको मणिग्राम हो। योसमेत समेटिएको रुपन्देही १ मा उनले सुरुदेखि नै दाबी गर्दै आएका थिए। तर २०७४ सालमा पनि एमालेले त्यहाँ नभएर उनलाई क्षेत्र नं ३बाट टिकट दिएको थियो। त्यो बेला त्यहाँबाट छबिलाल विश्वकर्मा लडेका थिए। अहिले पनि एमालेले उनलाई नै चुनाव लडाउँदैछ।
यसपालि पनि टिकट नपाएपछि पार्टी त्यागेर भुसाल स्वतन्त्र लड्ने तयारीमा छन्। उनि आफ्नै क्षेत्र रुपन्देही १ बाट लड्ने तयारी गरिरहेका छन्। यसपालि उनलाई एमालेले निर्वाचन क्षेत्र नं १ र ३ बाट समेत सिफारिस गरेको थियो।
भुसालसँगै अर्का नेता भीम रावलले पनि टिकट पाएनन्। उनले अहिले नै पार्टी छोडेको घोषणा त गरेका छैनन् तर आफ्ना सहकर्मीहरूसँग छलफल गरिरहेको बताएका छन्। उनले पार्टी निर्णयको गहन अध्ययन गरिरहेको र त्यसपछि मात्रै निर्णय लिने बताएका छन्। अछामको निर्वाचन क्षेत्र नं १बाट सर्वसम्मत सिफारिस भएका रावललाई पन्छाएर एमालेले झपटबहादुर बोहरालाई टिकट दिने निर्णय गरेको छ। तर उनी त्यहाँबाट सिफारिस नै भएका छैनन्। उनी माओवादी छोडेर एमाले प्रवेश गरेका हुन्।
रावलले टिकट नपाएपछि अछामका एमाले नेताहरूले ‘विद्रोह’ गर्दै राजीनामा दिएका छन्। जिल्ला कमिटीका चारजना सचिवालय सदस्यसहित ४० जनाले पार्टीले स्थानीय नेतृत्वलाई वेवास्ता गरेको भन्दै राजीनामा दिएका हुन्। टिकट वितरणमा असन्तुष्टी जनाउँदै एमाले मोरङका जिल्ला सचिव रुपेस खतिवडाले पनि राजीनामा दिएका छन्। जिल्ला अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्( ‘यस्तो गैरराजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपले नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरूको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको ब्यहोरा अनुरोध छ।’
त्यस्तै तालमेलको सहमतिअनुसार सुनसरीको निर्वाचन क्षेत्र नं १ जनता समाजवादी पार्टीको भागमा परेपछि त्यहाँका एमाले नेताहरूले ‘विद्रोह’को चेतावनी दिएका छन्। असन्तुष्ट नेताहरूले निर्णय सच्याउनका लागि पार्टीलाई राति १२ बजेसम्मको समय दिएको भन्दै नसच्चिए बागी उम्मेदवारी दिने चेतावनीसमेत दिएका छन्। एमाले सुर्खेतमा पनि टिकट वितरणमा त्यस्तै असन्तुष्टी छ। केन्द्रले टिकट दिएका उम्मेदवारहरूलाई जिताउन नसकिने जिल्ला नेताहरूले चेतावनी दिएका छन्। त्यस्तै काठमाडौं क्षेत्र नं ८मा टिकट पाएकी अष्टलक्ष्मी शाक्यले पनि आफू चुनाव नलड्ने सन्देश ओलीलाई पठाएकी छिन्। ओलीले यो क्षेत्रमा उनलाई लडाउने निर्णय गरेका थिए।
उनले आफू ७० वर्ष कटिसकेको र यसअघि नै चुनाव नलड्ने भनिसकेकाले टिकट पाएपनि आफू चुनाव नलड्ने बताएकी हुन्। त्यो क्षेत्रमा अरू नै उम्मेदवार खोज्न पनि उनले ओलीलाई खबर पठाएकी छिन्। त्यस्तै पृथ्वी सुब्बा गुरूङलाई पन्छाएर कास्कीको क्षेत्र नं १ ‘क’मा खगराज अधिकारीलाई टिकट दिएपछि त्यहाँ पनि जिल्ला कमिटीमा असन्तुष्टी देखिएको छ। यसअघि मुख्यमन्त्री भइसकेका गुरुङ यसपालि पनि मुख्यमन्त्रीकै दाबेदार भएर चुनावमा लड्ने भएका थिए। तर उनलाई भने एमालेले लमजुङबाट प्रतिनिधिसभाका लागि टिकट दिने निर्णय गरेको छ।
यसअघि अधिकारीले प्रतिनिधिसभामै लड्ने र प्रदेशमा नझर्ने बताउँदै आएका थिए। पछिल्लो पटक ओलीले अधिकारीलाई नै गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारेका छन्।