Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकाटालाे गरेर अध्यक्ष बन्ने दाहाल

काठमाडौँ । आफूलाई अर्को चार वर्षका लागि अध्यक्ष चुन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रक्रिया पूरा गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ । मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदाधिकारी चयन गर्ने बैठक एक साता धकेलिएको हो । महाधिवेशन हलले आइतबार २ सय ३६ सदस्यीय अपुरो केन्द्रीय समिति चयन गरेको थियो । महाधिवेशनबाट पारित माओवादीको विधानमा केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो चयन गर्ने व्यवस्था छ । यसैअनुसार अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भएका हुन् । ललितपुरको सानेपामा बसेको बैठकमा दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नारायणकाजी श्रेष्ठले गरेका थिए भने समर्थन कृष्णबहादुर महराले गरेका थिए । श्रेष्ठको प्रस्ताव र महराको समर्थनलाई केन्द्रीय सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए । त्यसअघि नवनिर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका थिए । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । तर, आवश्यकताअनुसार केन्द्रीय समितिले पदाधिकारीको संख्या थपघट गर्न सक्ने व्यवस्था पनि छ । अध्यक्ष निर्वाचित भए पनि अन्य पदाधिकारी भने पुस २५ मा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकबाट टुंगो लगाइने भएको छ । चीनमा उपचाररत वर्षमान पुन चाँडै स्वदेश फर्कने कारण देखाएर दाहालले पदाधिकारी चयन प्रक्रिया केही दिन पछाडि सारिएको बताए । पुनले दाहाललाई फोन गरी आफू पनि महासचिवको दाबेदार भएकाले काठमाडौं फर्केपछि मात्र पदाधिकारी चयन गर्नुपर्ने बताएका थिए । स्रोतका अनुसार आकांक्षीहरूको व्यवस्थापन गर्न जटिल भएपछि दाहालले अन्य पदाधिकारी चयन प्रक्रिया लम्ब्याएका हुन् । पदाधिकारीमा सबैभन्दा बढी प्रतिस्पर्धा महासचिवमा देखिएको छ । केन्द्रीय समिति र अध्यक्ष निर्विरोध निर्वाचित भएकाले पदाधिकारीमा निर्वाचन हुने सम्भावना कमजोर बनेको छ । अध्यक्ष चयन भएपछि दाहालले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अर्को केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो लाग्ने बताएका छन् । एक नेताका अनुसार दाहालले आइतबार र सोमबार स्थायी समितिमा रहेका नेताहरूलाई एक्लाएक्लै भेटेर परामर्श गरेका थिए । यसअघि महासचिवका दाबेदार भनिएका महराले दाहालसँगको भेटमा आफू महासचिव नहुने तर वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताएका छन् । चीनमा उपचाररत पुन महासचिवका दाबेदार हुन् । पटक–पटक मन्त्री बनेका उनले पनि आफ्नो गृहजिल्लामा बलियो संगठन बनाएका छन् । उनले पार्टीलाई फरक ढंगले चलाउन महासचिवमा आफ्नो दाबी स्वाभाविक भएको निकटहरूसँग बताउने गरेका छन् । २०६३ बाट माओवादीको सचिवालय सदस्य बनेका उनी हेटौंडा महाधिवेशनबाट सचिव बनेका थिए । उनी लामो समयदेखि दाहालको विश्वासिलो पात्रका रूपमा रहँदै आएका छन् । उनी छिट्टै नेपाल फर्कने भएका छन् । महासचिवको दाबेदारका अर्का नेता हुन्– जनार्दन शर्मा । उनी हाल अर्थमन्त्रीसमेत छन् । आफ्नै खुट्टामा उभिएको पार्टी बनाउने आत्मविश्वास र मार्गचित्रसहित शर्माले महासचिव बन्ने आकांक्षा राखेका छन् । दाहालसँग कहिले सहकार्य त कहिले संघर्षको नीति लिने उनी सक्रिय नेतामध्ये पर्छन् । प्रदेश र जिल्ला तहसम्म आफ्नो पक्षमा नेता–कार्यकर्ता बनाएका शर्माले पनि महासचिव बनेर माओवादीलाई नयाँ ढंगले चलाउने दाबी गर्दै आएका छन् । गृहजिल्ला रुकुममा उनले माओवादीको बलियो संगठन निर्माण गरेका छन् । महासचिवका लागि आकांक्षा राख्नेमा ऊर्जामन्त्री पम्फा भुसाल पनि छिन् । दाहालसँगको भेटमा भुसालले आफू महासचिवको दाबेदार भएको बताएकी छन् । पार्टी विभाजन हुँदा मोहन वैद्यतिर लागेकी उनी २०७४ को चुनावअगाडि माओवादीमा फर्केकी थिइन् । पार्टीभित्र उनी सबैभन्दा वरिष्ठ महिला नेता हुन् । दाहालसँग उनको सम्बन्ध राम्रो छ । पार्टीभित्र आफूभन्दा जुनियरबीच महासचिवका लागि प्रतिस्पर्धा देखिएपछि देव गुरुङले पनि आकांक्षा राखेका छन् । त्यसबाहेक शक्ति बस्नेत र गिरिराजमणि पोखरेलले पनि महासचिवमा दाबी गरेका छन् ।