Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टेलिकमको सेयर जारी गर्न शुरु भयो छलफल

काठमाडौँ । सेवाग्राहीलाई नेपाल टेलिकमको थप २२ प्रतिशत सेयर जारी गर्न तीन मोडालिटीमा छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको आगामी वर्षको बजेटमा नेपाल टेलिकमका सेवा प्रयोग गर्नेहरूलाई कम्पनीको २२ प्रतिशत सेयर जारी गर्ने भनिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको निजीकरण समितिले सेयर जारी गर्न तीन मोडालिटीमा छलफल गरिरहेको मन्त्रालय स्रोतको भनाइ छ । हाल टेलिकममा सरकारको ९२ र सर्वसाधारणको ८ प्रतिशत सेयर छ । सरकारले बजेटमा घोषणा गरेको व्यवस्था कार्यान्वयन भए टेलिकममा सरकारी स्वामित्व ७० प्रतिशतमा झर्नेछ । सरकारले बजेटमार्फत टेलिकमको ल्यान्डलाइन, मोबाइल वा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई यसको २२ प्रतिशत सेयर जारी गर्ने घोषणा गरेको हो । सरकारले टेलिकमको ग्राहक बढाउन यस्तो घोषणा गरेको मन्त्रालय स्रोत बताउँछ । पहिलो मोडलमा हरेक सेवाग्राहीले टेलिकमको सेवा उपभोग गरेबापत तिरेको रकमका आधारमा सेयर दिने, दोस्रो मोडल हरेकपटक टेलिकमको सेवा भुक्तानी गर्दा निश्चित रकम सेयरबापत सेयर वालेटमा जम्मा गर्ने र तेस्रो मोडल सेयरका लागि जोकोही ग्राहकले आफूखुसी रकम जम्मा गर्न पाउने व्यवस्था हो । तीनमध्ये एक उपयुक्त मोडल कार्यान्वयनमा जानेछ । टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न यस्तो व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ । टेलिकमको सेवा आगामी पुस मसान्तसम्म लिने ग्राहकले पनि यस्तो सेयर बाँडफाँटमा भाग लिन पाउनेछन् । सेयर विनियोजनको प्रक्रिया र मूल्यको विवरण असोज मसान्तभित्र तय गरिने बजेट वक्तव्यमा उल्लेख छ ।


सम्बन्धित समाचार