Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोखामा बसन्तलाई अघि सार्दै काँग्रेस

काठमाडौं । स्थानीय चुनावको माहौलले ठूला साना सबै दलहरूलाई छोएको छ । हिजो नगर र गाउँपालिकाको नेतृत्व हात पार्दा एमालेले उठाएको सार्वजनिक जमिन संरक्षणको नारा भने सफल हुन सकेन । काठमाडौंको उत्तरी भेग टोखा नगरपालिकामा एमालेबाट प्रकाश अधिकारीलाई नै यस पटक पनि अगाडि सार्ने सम्भावना देखिएको छ । ठूलो पार्टी, धेरै नेताका आकांक्षा पूरा गर्न नेपाली काँग्रेसले नगरपालिकाको नेतृत्वमा अगाडि सार्ने कसलाई हो ? थाहा छैन । तर टोखाकै जागरुक युवा बसन्त श्रेष्ठ नगरको मेयरको उम्मेदवार बन्ने लगभग निश्चित छ ।

उनी हिजो टोखा नगरको सचिव, नगरपालिकाको सभापति हुँदै पार्टीका जिम्मेवारी पूरा गरेका युवा हुन् । आज उनी पार्टी महाधिवेशन प्रतिनिधि बनेका छन् । पाँच गाविसको पुरानो संरचना बुझेको र भूगोलको आधारमा पनि श्रेष्ठलाई नेपाली काँग्रेसले मेयरको उम्मेदवार बनाउने सम्भावना बढी छ । काँग्रेसले अघिल्लो चुनावमा झोरबाट हरिहर अधिकारीलाई मेयरको उम्मेदवार बनायो भने धापासीबाट रजनी केसीलाई उपमेयरको उम्मेदवार बनाएको थियो । त्यतिखेर ५३ हजार मतदाता भएको गोंगबुलाई बाइपास गर्दा काँग्रेसका मेयरका उम्मेदवारलाई एमालेका प्रकाश अधिकारीले १४ सय मतान्तरले पराजित गरे । तर उपमेयर रजनि थापा भने ५२ मतले मात्रै पराजित भएकी थिइन् । टोखा नगरपालिकाभित्र ठूलो जनसंख्या भएका गोंगबु र धापासी गाविसहरू हुन् ।

तिनै गाविसको आधारलाई मानेर मेयर र उपमेयरको उम्मेदवार छनोट गर्ने हो भने निर्वाचनमा नेपाली काँग्रेसले सहज रुपमा आफ्नो विजय हासिल गर्न सक्ने स्थानीयहरू बताउँछन् । एमालेले टोखामा नेवार समुदायलाई हात लिन ज्ञानुमाया डंगोल अगाडि सार्दा गोंगबुका प्रकाश अधिकारीलाई मेयर बनायो । काँग्रेसले पिछडिएको क्षेत्र र थोरै मतदाता भएको झोरका हरिहरलाई मेयरको उम्मेदवार बनाउँदा पराजय भोग्नुपरेको महसुस अहिले गरिरहेको हुनुसक्छ । काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका एमालेले बहुमत जित हासिल गरेको थियो । तर यस पटक सत्ता गठबन्धनको स्थानीय गठबन्धनलाई सफल बनाउने अभियान शुरु हुँदैछ । टोखामा पनि माओवादी र काँग्रेसको गठबन्धन भयो भने एमालेलाई अप्ठ्यारो पार्ने छ । किनकि त्यहाँ माओवादीका २ हजार १ सय मत रहेका छन् । बसन्तले आफ्ना लागि नगर सभापति ओमकृष्ण विमली, गोंगबु क्षेत्रका केदार पाठक र मुरारी तामाङ, टोखाकै कसी नारायण, मनिष जोशी र दिपकराज जोशीको साथ पाउने आशा गरेका छन् । यतिखेर टोखा नगरपालिकाभित्र विकासका लहरहरू फैलाइएका छन् ।

अधिकांश स्थानमा सडक ढलान गरिएको छ । त्यही ढलान काटेर पानीको पाइप विछ्याउने, बिजुलीको तार भूमिगत गर्ने काम भइरहेको छ । प्रदेश सरकारको बजेटले निर्माण भएको वडा नं. ५ को खानेपानी बोरिङ निर्माण भइसकेको छ तर पाइप विस्तारका लागि बजेट अभाव भएपछि वडाध्यक्ष जगन्नाथ ढकालको पहलमा नगरपालिकाबाट बजेट राख्ने प्रयास भइरहेको छ तर सार्वजनिक जमिनको संरक्षण भने हुन सकिरहेको छैन । कल्की मन्दीर पुननिर्माण, पार्क निर्माण जस्ता काम वडा नं. ५ का देखिने योजना हुन् । यस पटक सबै दलका उम्मेदवारहरूलाई विकासका योजनाहरू नयाँ प्रस्तुत गर्ने अवस्था भने झन बढेर गएको छ । यस्तो अवस्थामा चुनावी गठबन्धनमा सक्रिय भएका नेपाली काँग्रेस र माओवादीका नगर कमिटीका नेताहरूले सामूहिक छलफल गरी उम्मेदवारको चयन गर्ने योजना बनाएको कार्यकर्ताहरूले बताउन थालेका छन् ।