Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ । ट्याक्सीको ठगीबाट आजित भएका सवारी साधन नहुने यात्रु पठाओ अफलाइन राइडरबाट लुटिन र कुटिने अवस्था आएको छ । हातमा सुनको चेन, गलामा साङ्लो जात्रो सिक्री, फेशन पकेटमारको जस्तो देखिने मोटरसाइकल र स्कुटी लिएर बाटो तथा चोकमा यात्रु कुर्नेहरूलाई ट्राफिकले समेत चासो दिँदैन । यात्रुले भनेको ठाउँमा ट्याक्सी मिटरमा जान मान्दैन । रत्नपार्कबाट चक्रपथसम्म ट्याक्सी मिटरमा जाँदैन । पठाओले २५० बाट घटेर २ सयसम्म लान्छ ।
ट्याक्सीले त्यही ठाउँमा आउन ५ सय माग्छ भने यात्रुले चार पाङ्ग्रे ट्याक्सी भन्दा पठाओ रोज्नु स्वाभाविक हुन्छ । तर त्यहाँ पनि आम जनताले नबुझ्ने शैलीमा ठगिरहेको छ । अफलाइनमा बसेर यात्रुसँग बार्गेनिङ गर्ने, चोकबाट टिपेर कुना कप्चामा पुगेपछि लुट्ने उनीहरूको धन्दा हुन थालेको छ । जाने यात्रु सचेत हुन सके भने अनलाइन यात्रा गर्दा यस्तो लुटपाट हुने सम्भावना कम हुन्छ । तर यात्रुमा चेतना फैलाउने काम कम्पनीले पनि गरेको छैन । प्रहरीले यस्तो अपराध रोक्न कम्पनीलाई मात्रै कडाई गरेर हुँदैन । अफलाइनमा यात्रु बोक्ने राइडरलाई ठाउँको ठाउँ कारबाही गर्न थालियो भने यस्ता अपराध रोकिन सक्छ । कम्पनीले पनि अफलाइन हो आफूसँग जोडिएको छैन भनेर पन्छिन पाउँदैन । कम्पनी पन्छिन्छ भने ठगी रोक्ने एउटै उपाय हो कम्पनी बन्द गर्ने । यस्ता कम्पनी बन्द हुँदा फाइदा हुने तिनै ठग ट्याक्सी वालालाई हो । ट्याक्सीले मान्छे ठग्यो भनेर कहीं कतै कारबाही गरेको सुनिँदैन । ट्याक्सी मिटरमा हिँडेन भने तुरुन्तै ट्राफिकलाई खबर गर्न भनिन्छ तर ट्राफिकलाई खबर गरेर मोलमोलाई गरुञ्जेल यात्रु गन्तव्यमा पुग्छ । सरकार योजना ल्याउँछ कार्यान्वयनको पाटोतिर ध्यान दिँदैन । यातायात व्यवस्था विभागमा राइडर सेयरिङमा पठाओ, टुटल, इन ड्राइभर, साहरा, ट्याक्सीमाण्डू, जायर, जाउ गुरु जस्ता कम्पनी दर्ता छन् । पठाओलाई शुरुमा ट्याक्सी व्यवसायीले विरोध गरे । ड्राइभरले मोटरसाइकल टुटफुट बनाउने, कुटपिट गर्नेसम्मका अपराध गरेका हुन् । अहिलेका गृहमन्त्री रवि लामिछाने हावा हुण्डरी हुन् । उनले बलात्कारबाट मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने डंका पिटे, तिनैले सम्पत्ति कब्जा गर्न बलात्कार गरी हत्या गरिएकी बाँकेकी निर्मला कुर्मीका हत्यारा समेत पत्ता लगाउन नसके पद त्याग गर्ने बाचा गरेका छन् । तर यातायात व्यवस्था विभाग भने लाइसेन्स बाँड्ने नाममा हजारौं परीक्षार्थीमाथि गिर खेलेको छ । विभागीय मन्त्री नारायणकाजीको अठोट भने पूरा हुने छाँटकाँट छैन । यातायात विभाग र ट्राफिक प्रहरीले अनुगमन गर्दैंनन् । ट्राफिकले बृद्ध, जेष्ठ नागरिक, अपाङ्गता र महिला सीटको व्यवस्था छोटो दुरीको यात्रामा चासो दिँदैन । संरक्षित सिट भूस तिघ्रेले ओगट्छ । युवतीसँग गफिएर त्यो तिघ्रे सीटमा हुन्छ । आडमा उभिएका जेष्ठ नागरिक, वृद्धवृद्धा, गर्भवतीले सिट पाउँदैनन् । सडक यातायातलाई सहज बनाउने ट्राफिकले चालक र सहचालकलाई आरक्षित सिटमा आरक्षित राख्ने निर्देशन दिए पुग्छ । धम्की नदिएसम्म कुनै काम नगर्ने छाडा प्रवृत्तिका विरुद्ध ट्राफिकले जेष्ठ नागरिक, महिला, अपाङ्गताको सीट कब्जा गर्नेलाई ५ सय जरिवाना भनोस् त ती तिघ्रेले आरक्षण सिट कब्जा गर्न पाउँदैनन् । तर ट्राफिकलाई त्यो स्वाद छैन । मोटरसाइकल चालक सार्वजनिक यातायातका चालक होस् वा पैसा झार्न सहज हुने हेवी गाडी चालकसँग नगद झार्न राजमार्गका खोच र गल्छेडा कुर्ने ट्राफिकले राजधानीको बेथिति पत्तो पाउँदैन । चालकको लाइसेन्स प्वाल पार्ने र दुःख दिने सिद्धान्तबाट सुध्रन पनि नसकेको त्यो ट्राफिकमा डिआईजी मीरा चौधरी आएपछि धेरै सुधार त भए तर सार्वजनिक यातायातमा भूसतिघ्रेहरूको दानागिरी हटेको छैन । पठाओ नामको सेवामा शुरुमा आकर्षण थियो । ट्याक्सीको दादागिरीविरुद्ध आएका यातायात साधनले समेत ठग्दा अब प्रहरीले के गर्ला ? यात्रुले कहाँबाट न्याय पाउलान् ?
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल