Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पको दाबी– इरानविरुद्ध ठूलो आक्रमणको तयारी पूरा, निर्णय मात्र बाँकी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो सैन्य आक्रमणको तयारी पूरा भएको दाबी गरेका छन्। उनले अब अन्तिम निर्णय लिन मात्र बाँकी रहेको बताएका छन्।

ट्रम्पले इरानले आफूले भोग्नुपर्ने जति क्षति अझै नबेहोरेको टिप्पणी गर्दै आवश्यक परे थप कडा कदम चाल्न अमेरिका तयार रहेको संकेत दिएका छन्।

ट्रम्पको उक्त अभिव्यक्तिपछि इरानले तत्काल प्रतिक्रिया दिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले सैन्य आक्रमण जारी राखे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अराघचीले युद्धको समाधान थप आक्रमणमा नभई वार्तामार्फत खोजिनुपर्नेमा जोड दिँदै संवाद नै तनाव अन्त्य गर्ने प्रभावकारी माध्यम भएको बताएका छन्।

यता, क्षेत्रीय तनाव बढ्दै गएपछि बेलायतले पनि आफ्ना सैन्य बललाई उच्च सतर्कतामा राखेको जनाएको छ। बेलायती सरकारले आवश्यक परे देशको सुरक्षाका लागि सेना पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकालाई बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति दिइए बेलायत पनि आफ्नो निशानामा पर्ने चेतावनी दिएको थियो। यससँगै मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।