Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला दल नै आचारसंहिता उल्लंघनमा अगाडि, स्थापितले भने कसैको चरित्र हत्या गरेको छैन

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ मागिएको जानकारी दिनुभयो । उहाँले पाँच जनाको जवाफ अझै नआएको बताउनुभयो । पछिल्लो पटक आयोगले नेकपा एमाले र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो ।
निर्वाचन आचारसंहितामा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न नहुने व्यवस्था छ । आयोगले आचारसंहिता जारी गरेको दुई दिन नबित्दै उल्लङ्घनको घटनामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल तथा गण्डकी प्रदेशका सभामुखलाई चित्तबुझ्दो जवाफ बुझाउन निर्देशन दिएको थियो । सबैले छुट्टाछुट्टै जवाफ पठाएपछि आयोगले सचेत गराउने निर्णय गरेको थियो । निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागू गरेको हो ।
आयोगले अनुमति नलिई विदेश भ्रमणमा गएको सम्बन्धमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग समेत जवाफ मागेको थियो । आयोगको कानुन महाशाखाका अनुसार भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भन्दै नेपाली काँग्रेसबाट नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार सीता गुरुङ, धनगढी उपमहानगरपालिकाका उम्मेदवारले भड्किलो खर्च गरेको सम्बन्धमा जवाफ मागिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा प्रमुख पदका उम्मेदवार केशव स्थापितलाई आचारसंहिता उल्लङ्घनसम्बन्धी दुई घटनामा अलग अलग जवाफ मागेको थियो । स्थापितले आयोगलाई बुधबार नै जवाफ पठाउनुभएको छ । दुवै स्पष्टीकरणमा स्थापितले एकनासकै जवाफ बुझाउनुभएको छ । आयोग स्रोतका अनुसार स्थापितले बुझाएको जवाफमा भनिएको छ, “आफ्नो कुरा स्पष्ट राख्ने क्रममा आफूले बोलेको कुराले कसैको चरित्रहत्या, मानहानी हुने भन्न मिल्दैन ।” आयोगले प्रमुख पदका उम्मेदवार स्थापितसँग महिलालाई दुरुत्साहन हुने तथा अर्का उम्मेदवार बालेन शाहलाई होच्याउने गरी अभिव्यक्ति दिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ मागेको थियो ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल