Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्लुएचओले दियो फेरि यस्तो चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् । उनले भने– विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस महामारीको राजनीतिकरणले अवस्थालाई थप बिगार्दै लगेको छ ।’ उनले थप भने– अहिले हामीले सामना गरिरहेको सबैभन्दा ठूला खतरा कोरोना भाइरसको महामारीभन्दा पनि विश्वव्यापी एकता र विश्वव्यापी नेतृत्वको अभाव हो । विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ । सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे । राजनीतिकरण नगर्न र नेतृत्वको अभाव खड्किएको भन्ने उनको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ । उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी समेत गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । उनले डब्लएचओको नेतृत्व चीनतर्फ ढल्किएको भन्दै सहयोग रकम समेत रोक्ने घोषणा गरिसकेका छन् । प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरे ।
ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन् । विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी १० लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछि ८ दिनमा बृद्धि भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ– ‘यो महामारी अझै बढ्दैछ र यसको आर्थिक र अन्य प्रभाव दशकौंसम्म महसुस हुनेछ ।’ कोराना महामारीका कारण विश्वभर अहिलेसम्म करिब ४ लाख ७० हजार जनाको मृत्यु भैसकेको छ भने करिब ९० लाख व्यक्ति यो रोगबाट संक्रमित भैसकेका छन् ।