Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्ल्युएचओले किन दियो यस्तो चेतावनी ?

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन अवस्थामा पुगेको भन्दै चेतावनी दिएको छ । कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओले उक्त चेतावनी दिएको हो । विश्वभर जनवरी ३० मा स्वास्थ्य आपतकालको घोषणा गर्दा चीनबाहिर एकसय जनामा पनि कोरोना संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले स्मरण गराएको छ ।
तर, यो अवधिमा मृतक मात्रै ६ लाख ५० नाघ्नु र संक्रमित संख्या १ करोड ६६ लाखभन्दा बढी पुग्नुले खराब अवस्थालाई चित्रित गरेको डब्ल्युएचओका प्रमुख डा।टेड्रोस अडानोम गेबेरियससले बताए । ‘कोरोनाले संसारलाई परिवर्तन गराइदिएको छ । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई नै एकसाथ अलग्याईदिएको छ,’ डा।गेबेरियससले भने, ‘पछिल्लो ६ हप्तामा त अझ संक्रमित संख्या दोब्बरले बढेको छ, जुन चिन्ताको विषय हो ।’ जेनेभामा सोमबार प्रेस ब्रिफिङका क्रममा गबेरियससले लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिन उपाय नभए पनि मास्कको प्रयोगसँगै सरसफाइ र सेनिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे । यसअघि जिका भाइरस, स्वाइन फ्लू, पोलियो र इबोलामा पनि स्वास्थ्य संकटकाल लगाइएको भए पनि यो स्तरको नभएको ठहर गरेको उसले यसबारे यसै साता आपत्कालिन समितिले समिक्षा गर्न लागेकोसमेत उनले जानकारी दिए । यसैबीच अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाबाट संक्रमित हुने उनी अहिलेसम्मका सबैभन्दा शीर्ष अमेरिकी अधिकारी हुन्। कोरोना संक्रमणको ‘हटस्पट’ अहिले अमेरिका छ। विश्वभरका कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत अमेरिकामा छन्। हङकङमा दैनिक संक्रमण उच्च भएको छ। स्थिति बिग्रँदै गएपछि त्यहाँ लकडाउन कडाइका साथ लागू गरिएको छ। स्पेनमा कोरोना संक्रमण फेरि बल्झिएको छ। यद्यपि, उसले पर्यटकका लागि स्पेन सुरक्षित रहेको दाबी गरेको छ। बेलायतले स्पेनबाट फर्कनेका लागि १४ दिनको क्वारेन्टिन अनिवार्य गरिदिएको छ। यसले स्पेनको पर्यटन उद्योगलाई असर पर्ने देखिएको छ। कोरोनाबाट अहिलेसम्म बचिरहेको दाबी गर्दै आएको उत्तर कोरियामा पनि पहिलो संक्रमण देखिसकेको छ ।