Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्ल्यूएचओद्वारा इबोलालाई सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषित

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक स्वास्थ्य चिन्ताको विषय घोषणा गरेको छ। बीबीसीका अनुसार संक्रमणको अवस्था गम्भीर बन्दै गएपछि डब्ल्यूएचओले यस्तो निर्णय लिएको हो। हालसम्म करिब २४६ जनामा संक्रमणको आशंका गरिएको छ भने ८० जनाको मृत्यु भइसकेको रिपोर्ट सार्वजनिक भएको छ। यद्यपि, डब्ल्यूएचओले यो अवस्थाले अझै विश्वव्यापी महामारीको मापदण्ड पूरा नगरेको स्पष्ट गरेको छ। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितको वास्तविक संख्या र रोग फैलिएको क्षेत्रबारे अझै स्पष्ट जानकारी नआएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अहिले देखिएको संक्रमण ‘बुन्डिबुग्यो भाइरस’ नामक इबोलाको एक प्रकारका कारण भएको हो, जसविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन। डब्ल्यूएचओले इटुरी प्रान्तमा हालसम्म आठ वटा प्रयोगशालाबाट पुष्टि भएका संक्रमण फेला परेको जनाएको छ। राजधानी बुनियासहित मोंगवालु र र्वाम्पारा क्षेत्रमा पनि थप संदिग्ध बिरामी तथा मृत्युका घटना देखिएको जानकारी दिइएको छ। यसबीच, संक्रमण छिमेकी देश युगान्डासम्म फैलिएको पुष्टि भएको छ। त्यहाँ दुई जनामा संक्रमण देखिएको र बिहीबार मृत्यु भएका ५९ वर्षीय एक पुरुषमा इबोला भाइरस पुष्टि गरिएको बताइएको छ। कंगोसँग सीमा जोडिएका मुलुकहरूमा रोग थप फैलिन सक्ने उच्च जोखिम रहेकाले डब्ल्यूएचओले कंगो र युगान्डालाई आपत्कालीन निगरानी केन्द्र स्थापना गर्न सुझाव दिएको छ। साथै संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसको खोजी, निगरानी र रोकथामका उपाय तीव्र बनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार