Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राध्यापक डा. गोविन्द केसीले पछिल्लो पटक अघि सारेका ७ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री देउवा र डा। केसीबीच भेटघाटमा प्रधानमन्त्रीले क्रमश मागहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएको डा। केसीका सहयोगीहरुले बताएका छन् । पुस ११ गते विज्ञप्ति जारी गरेर उनले आफ्ना मागहरु पूरा गर्न सरकारलाई आग्रह गरेका थिए । धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानको समस्या समाधान हुनुपर्ने उनको माग छ । प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्नसम्बन्धी मन्त्री र निकायहरुलाई निर्देशन दिने प्रधानमन्त्रीले बताएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सम्पत्ति छानबिन गर्न, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने प्रतिबद्धता प्रधानन्त्रीले जनाएको केसीका सहयोगी प्रीतम सुवेदीले बताए । केसीले राणाको सम्पत्ति छानबिन गर्न विभागलाई आग्रह गर्दै आएका छन् । उनलाई महाभियोगको कारबाही गर्ने विषयमा पनि सत्ता गठबन्धनमा थप छलफल गर्ने सहमति भएको उनले जनाए ।
त्यस्तै प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त शुल्क लिन नदिने र त्यसो गर्ने कलेज सञ्चालकलाई कानुनको दायरामा ल्याउने बाचा गरेको उनले जनाए । नोबेल, काठमाडौं, मणीपाल लगायतका मेडिकल कलेजमा शुल्क विवादका कारण विद्यार्थी आन्दोलनमा छन् । स्वार्थको द्वन्द्व हटाउने सम्बन्धी कानुन मस्यौदा गर्ने कार्यलाई तीव्रता दिन कानुन मन्त्रालयलाई निर्देशन दिने र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तीव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने सहमति भएको हो । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पठाई सुरु गर्ने र निर्माण सम्पन्न नभएको हकमा निर्माण कार्यलाई तीव्रता दिने विषयमा पनि भेटमा छलफल भएको थियो । केसीले सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा रहेका विद्यमान कमीकमजोरी हटाउन पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
भेटघाटमा निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई जिम्मा दिन र आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा उनीहरुलाई घर फर्किने वातावरण बनाउन गृहमन्त्रीलाई तत्काल निर्देशन दिने प्रधानमन्त्रीले बताएका थिए । डा. केसीले सरकारी कामकाज वा प्रधानमन्त्रीको कार्य सम्पादन सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गर्न देउवाको ध्यानाकर्षण गराएका थिए । केसीले ७ बुँदे माघ अघि सारेपछि कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री र उनीबीचको भेटघाटको समन्वय गरेका थिए । भेटघाटमा डा. केसीको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता मोहना अन्सारी, डा. विष्णु पोखरेल र सुवेदी सहयोगी थिए ।