Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
धनगढी । आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकार र डा. केसी पक्षबीच भएको करिब ११ घण्टाको वार्ता निष्कर्षविहीन बनेको छ। आइतबार दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म सेती प्रादेशिक अस्पतालमा भएको वार्तामा अधिकांश विषयमा सहमति नजिक पुगे पनि दुई महत्वपूर्ण मुद्दा भने टुंगिन सकेनन्।
शिक्षा मन्त्रालयको नेतृत्वमा गठित सरकारी वार्ता टोली र डा. केसी पक्षबीच निजी मेडिकल कलेजमा एमबीबीएस अध्ययनको सिट संख्या निर्धारण तथा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको विषयमा सहमति हुन नसकेको हो।
वार्ता टोलीका एक सदस्यका अनुसार अन्य अधिकांश मागमा सहमति जुटिसकेको छ भने बाँकी दुई विषयमा थप छलफल गर्न सोमबार बिहान १० बजे पुनः वार्ता गर्ने सहमति भएको छ।
सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशचन्द्र अग्रवाल तथा पुकार बम वार्तामा सहभागी छन्। डा. केसी पक्षबाट डा. अमृत जैसी र पवन थापा सहभागी भएका छन्।
सरकारी टोलीले प्रारम्भमा डा. केसीका प्रतिनिधिसँग छलफल गरेको थियो भने त्यसपछि डा. केसीसँग प्रत्यक्ष संवाद गरेको थियो।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने, ३०० शय्याको अस्पताल तत्काल सञ्चालन गर्न आवश्यक संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गर्नुपर्ने र एमबीबीएस अध्ययन तत्काल सुरु गर्नुपर्ने माग राखेका छन्।
सरकार भने गेटामा ३०० शय्याको अस्पताल सञ्चालन, एमबीबीएस कार्यक्रम सुरु गर्ने, छात्रवृत्ति ऐन कार्यान्वयन गर्ने तथा विगतका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सकारात्मक रहेको बताइएको छ। तर विश्वविद्यालयका पदाधिकारी हटाउने विषय र निजी मेडिकल कलेजको एमबीबीएस सिट संख्याबारे अझै सहमति जुट्न बाँकी छ।
वार्ता टोलीका एक सदस्यका अनुसार हाल केही निजी मेडिकल कलेजले १३० जना विद्यार्थीलाई एमबीबीएस अध्ययन गराइरहेका छन्। सरकारले सिट संख्या बढाउने पक्षमा रहेको भए पनि डा. केसीले सम्बन्धित कलेजको पूर्वाधार र मापदण्डका आधारमा आवश्यक परे सिट संख्या घटाउनुपर्ने धारणा राखेका छन्। यही विषयमा थप छलफल हुने जनाइएको छ।
रजिष्ट्रारलाई पदमुक्त गर्ने विषयमा सरकार सकारात्मक देखिए पनि औपचारिक सहमति भइसकेको छैन। उपकुलपतिको विषयमा पनि दुवै पक्षबीच संवाद जारी रहेको वार्ता टोलीले जनाएको छ।
यसैबीच, विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भूमिका खेलेका सांसद केपी खनाल र आनन्द चन्दसँग पनि सरकारी पक्षले वार्ताकै क्रममा पटक–पटक संवाद गरेको स्रोतले जनाएको छ।
डा. गोविन्द केसी गत शुक्रबारदेखि धनगढीमा आमरण अनशनमा छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चिकित्सकको सल्लाहअनुसार शनिबारदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचारका साथै निगरानीमा राखिएको छ।
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल