Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डेंगुको प्रकोप र समाधानका उपाय

रामकुमार धमला

अहिले डेंगु ज्वरो नियन्त्रण नभएर स्वास्थ्यमन्त्री, सचिव र ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख चौतर्फी आलोचित भइरहेका छन् । गत वैशाख ३० गतेदेखि सुनसरीको धरानबाट देखिएको डेंगु ज्वरो घट्नुको सट्टा दिन प्रतिदिन बढिरहेको छ । अहिलेसम्म देशभरका ४२ जिल्लामा ५ हजारभन्दा बढीलाई डेंगु ज्वरोले सङ्क्रमण गरिसकेको छ । यो सरकारी तथ्याङ्क भए पनि यसलाई ‘अण्डर रिपोर्टिङ’ भन्न सकिन्छ । किनभने केही मानिसहरू निजी क्लिनिक र ल्यावमा डेंगु ज्वरो सेरोलोजी टेष्ट गरेकाले सो तथ्याङ्क ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्राप्त गर्न सकेको छैन । डेंगु ज्वरोको प्रकोपले धेरै जनसङ्ख्यालाई प्रभावित गरिसकेको छ तर समयमा सम्बन्धित सरोकारवाला निकायले काम नगर्दा नियन्त्रणबाहिर गएको हो । यसका अलावा डेंगु नियन्त्रण नहुनुका अरू पनि कारण छन्, त्यसलाई बुँदागतरूपमा तल लेखिएको छ ।

डेंगु नियन्त्रण नहुनुका कारण
१. मौसमी परिवर्तन : सामान्यतया डेंगु ज्वरो गराउने भेक्टर एडिस जातको पोथी लामखुट्टे वर्षायामपछि
(पोष्ट मनसुन) सक्रिय हुन्छ । यसपालि वैशाख–जेठतिर नै फाट्टफुट्ट वर्षा सुरु भएकाले प्रि–मनसुनबाटै डेंगु ज्वरोको प्रकोप अचानक बढ्यो । लामखुट्टेका अण्डा र लार्भा जब पानीको सम्पर्कमा पुग्छ, लामखुट्टेका रूपमा विकास हुने गर्दछन् ।
२. सङ्घीय सरकारले समयमा सक्रियता नदेखाउनु : डेंगु ज्वरोको प्रकोप हुनासाथ १ नं. प्रदेश सरकार र त्यहाँका धरान, इटहरी उपमहानगरपालिका तथा विराटनगर महानगरपालिका लगायत नगर–गाउँपलिकाले प्राथमिकताका साथ गतिविधिहरू सञ्चालन गरे । तर सङ्घीय सरकारले सो समयमा जति सक्रियता देखाउनुपथ्र्यो त्यो देखाएन ।
३. तीन तहको सरकारबीच समन्वयको कमी : डेंगु ज्वरोको प्रकोप हुनासाथ स्थानीय सरकारले प्रदेश र सङ्घसँग सहयोग याचना गरे पनि समन्वय र नेतृत्वको कमी देखियो । तिनै सरकारले एक–अर्काको मुख ताक्दाताक्दै डेंगु ज्वरोले ठूलो जनसङ्ख्यालाई प्रभावित गरिसक्यो । स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारबीच एकले अर्कालाई दोषारोपण गर्दागर्दै समय बित्यो ।
४. अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी नहुनु : यो बीचमा सङ्घ र प्रदेश तहका पदाधिकारीहरू डेंगु ज्वरोको अनुगमन तथा सुपरिवेक्षण गर्न आए पनि मौखिक निर्देशन र जानकारी दिएर फर्कने भएकाले नियन्त्रण त्यति प्रभावकारी हुन सकेन ।
५. बजेटको अभाव : ईपीडीमियोलोजी तथा रोग नियन्त्रण शीर्षकका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्नु पनि डेंगु नियन्त्रण नहुनुको अर्को महत्वपूर्ण कारण हो । यस पटकको डेंगु महामारीले राम्रो पाठ सिकाएको छ । खास गरी स्वास्थ्य क्षेत्रलाई आवश्यक मात्रामा बजेट छुट्ट्याउनुपर्नेमा ध्यानाकर्षण गराएको छ ।
६. जनचेतनाको कमी हुनु : डेंगु ज्वरो गराउने लामखुट्टे दिउँसो सक्रिय हुने भएकाले बिहान, दिउँसो र साँझमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । डेंगु ज्वरो नियन्त्रणको मुख्य उपाय नै सङ्क्रमित लामखुट्टेको टोकाइबाट बच्नु हो । त्यस्तै, लामखुट्टोको सङ्ख्यालाई पनि नियन्त्रण गर्न सक्नुपर्दथ्यो । जस्तो– लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य । यी सबै कार्य सञ्चालन गर्न समुदायको केही जनसङ्ख्यामा जनचेतनाको कमी देखियो भने केहीको बेवास्ता गरेको पाइयो ।
७. समुदायको सक्रिय सहभागिता नहुनु : समुदायको केही मानिसमा डेंगुबाट बच्ने सबै उपायहरूबारे जानकारी हुँदाहुँदै पनि सक्रियता नभएका कारण प्रतिदिन बढेर गइरहेको छ । डेंगु ज्वरोबारे वडास्तरीयमा जनचेतनात्मक कार्यक्रम सञ्चालन भइरहँदा केही मानिसहरू भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले मात्र नियन्त्रण गरिदिनुपर्ने जस्तो गरेर बेवास्ता गरे । घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पानी जम्मा हुन नदिन र विशेष गरी दिउँसो लामखुट्टेको टोकाइबाट बच्न सके मात्र पनि डेंगु ज्वरो नियन्त्रण हुने निश्चित प्रायः छ । त्यस्तै, लामखुट्टेको अण्डा र लार्भाको खोजी तथा नष्ट गर्ने अभियानमा समुदायको परिचालनमा कमी हुनु पनि डेंगु ज्वरो बढ्नुको कारण बन्यो ।
८. अनभिज्ञ र अन्धाधुन्द नियन्त्रण प्रयास गर्नु : स्थानीय सरकार र जनप्रतिनिधिलाई डेंगु नियन्त्रण गर्न प्रभावित क्षेत्रका जनताले चर्को दबाब दिएपछि डेंगु नियन्त्रण गर्न कतिपय स्थानीय निकायले अन्धाधुन्द र अनभिज्ञरूपमा नियन्त्रण प्रयास ग¥यो । जनताको आँखामा छारो हान्ने प्रयास भए । परिणामतः नियन्त्रण हुन सकेन । जस्तो– लामखुट्टे नियन्त्रण गर्न फगिङ ग¥यो । त्यस्तो केही पालिकाले त दमकलमा पानी र मट्टीतेलको अघुलनशील मिश्रण बनाएर छर्कने काम पनि भयो । जुन गतिविधिहरू लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी होइन । यस्ता कार्यले वातावरणलाई थप असर पुग्यो ।
९. विशेषज्ञको राय नलिनु : डेंगु नियन्त्रण गर्न लामखुट्टेको अण्डा, लार्भा र एडल्ट लामखुट्टे नियन्त्रण नगरी असम्भव प्रायः छ । तसर्थ डेंगुले प्रकोपको रूप लिनुपूर्व वा समयमा नै विशेषज्ञको रायअनुसार सङ्घ, प्रदेश र स्थानीयले गतिविधिहरू सञ्चालन गर्नुपर्दथ्यो ।

डेंगु ज्वरो नियन्त्रणका उपायहरू
डेंगु ज्वरो नियन्त्रण गर्न नसकेपछि अहिले सरकारले सेना र प्रहरी परिचान गरेर भए पनि नियन्त्रण गर्ने आश्वसन दिइरहेको छ । हुन त डेंगु ज्वरो नियन्त्रणको लागि लामखुट्टेको लार्भा अण्डा खोजी र नष्ट गर्ने कार्य सर्च एण्ड डिस्ट्रोएड भन्ने फौजी शब्दावली नै हो । तर जबसम्म समुदायको मानिस सक्रिय भएर अभियानकै रूपमा डेंगु ज्वरो नियन्त्रणमा नलागेसम्म सेना वा प्रहरीको सहयोगले मात्र नियन्त्रण गर्छु भन्नु केवल सरकारले आफ्नो आत्मरक्षा गरेको मात्र हो भनेर बुझ्न सकिन्छ ।
साँच्चिकै सरकार डेंगु नियन्त्रणमा लागेको हो भने सङ्घीय सरकारको नेतृत्वमा प्रभावित क्षेत्रमा स्थानीय घर, टोल, गाउँ र वडा हुँदै सिङ्गो पालिकाका सबै सरकारी निकाय, गैसस, विद्यालय, सेना–प्रहरी र सरोकारवाला सङ्घसंस्था र व्यक्तिहरूसँगको संयुक्त सहकार्यमा निरन्तर जनचेतनात्मक गतिविधिहरू र सर्च एण्ड डिस्ट्रोएड कार्यलाई बालमैत्री वडा, पूर्ण खोपयुक्त पालिका वा खुला दिसामुक्त क्षेत्र घोषणा गरे जस्तै अभियानकै रूपमा डेंगु ज्वरोमुक्त वडा र पालिका निर्माण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । नत्र भने पोष्ट मनसुनमा प्रायः देखिने डेंगु ज्वरोले अझै नेपालीको विशेष चार्ड दशैँतिहारसम्मै दुःख दिने निश्चित प्रायः छ ।