Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तथ्यले देखायो- खोप नलिएकाहरु कोरोनाको जोखिममा

काठमाडौँ । फेरि कोरोनाको संक्रमण उकालो लाग्न थालेको छ । जनस्वास्थ्यका मापदण्ड आम नागरिकले पालना नगर्ने हो भने संक्रमणको अवस्था भयावह नहोला भन्न सकिन्न । खोप नलिएका र जटिल दीर्घरोग भएकाहरूमा कोभिड संक्रमण घातक हुनुका साथै र मृत्युको जोखिम पनि बढी देखिएको छ । मंगलबार एकै दिन खोप नलिएका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ, योसँगै साउनयता कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् । यी ७ जनामध्ये ६ जनाले खोप लगाएका थिएनन् भने अर्का एकले एक डोज मात्र लिएका थिए । उनी क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट भने ग्रस्त थिए । मंगलबार मृत्यु हुने ७२ वर्षीया महिलामा दीर्घरोगको समस्या थियो भने ५० वर्षीय पुरुषमा भने त्यस्तो समस्या थिएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय संक्रमणको गतिमा तीव्रता आएको बताए । चिकित्सकहरूका अनुसार सामान्य स्वास्थ्य स्थिति भएका र आवश्यक मात्रामा खोप लिइसकेकाहरूमा भने लक्षण सामान्य देखिन्छ । मध्यम वा कडा लक्षण देखिए पनि त्यस्ता व्यक्ति केही दिनमै निको हुने गरेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।चुमनलाल दासले हाल आईसीयूमा भर्ना रहेका धेरैजसो दीर्घरोगी रहेको बताए । वीर अस्पताल कोभिड युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठले पूर्ण खोप लिएका, सामान्य स्वास्थ्य भएका वा दीर्घकालीन रोग भए पनि नियमित औषधि सेवन गरिरहेकामा संक्रमण घातक नदेखिएको बताए । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म कुल जनसंख्याको ७०.४ प्रतिशतले पूर्ण र ७०.२ प्रतिशतले एक डोज खोप लगाएका छन् । यस्तै २४.७० प्रतिशत अर्थात् ७२ लाख १२ हजार ६ सय २२ जनाले बुस्टर डोज लिएका छन् ।


सम्बन्धित समाचार