Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिब्बतको केरुङ पहिरोबारे सी जिनपिङले बोलाए उच्चस्तरीय बैठक

बेइजिङ । चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत पर्ने केरुङ (ग्यिरोङ) काउन्टीमा गएको भीषण पहिरो र त्यसपछि उत्पन्न विपद्को अवस्थाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। पहिरोबाट भएको क्षति न्यूनीकरण, प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने विषयमा बैठक केन्द्रित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको उच्च नेतृत्वस्तरीय बैठकमा सीमा क्षेत्रमा उत्पन्न भोटेकोशी विपत्तिलाई मुख्य एजेन्डाका रूपमा राखिएको थियो। राष्ट्रपति सीले विपत्तिपछि उत्पन्न गम्भीर अवस्थालाई ध्यानमा राख्दै उद्धार, राहत तथा प्रभावित क्षेत्रको व्यवस्थापनका लागि आवश्यक निर्णय गर्न पार्टी नेतृत्वको बैठक बोलाएका हुन्।

बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी जिनपिङसहित उच्च नेताहरूले सीमा क्षेत्रको केरुङ बन्दरगाह आसपास बुधबार भएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले मृतकको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेका थिए।

केरुङ क्षेत्रमा गएको विनाशकारी पहिरो र त्यसपछि उत्पन्न प्राकृतिक विपत्तिले नेपाल–चीन सीमावर्ती क्षेत्रमा समेत चिन्ता बढाएको छ। पहिरो तथा बाढीजन्य घटनाका कारण भोटेकोशी नदी प्रणाली प्रभावित भएपछि नेपालतर्फ पनि बाढीको जोखिम बढेको छ।

चिनियाँ नेतृत्वले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति र स्रोत–साधन परिचालन गर्न निर्देशन दिएको जनाइएको छ। साथै, सम्भावित थप जोखिमलाई ध्यानमा राखेर स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई सतर्क रहन र प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ।

नेपाल–चीन सीमावर्ती क्षेत्रको प्राकृतिक विपत्तिले दुवै देशका तटीय तथा सीमावर्ती बस्तीमा असर पारेकाले परिस्थितिलाई गम्भीर रूपमा लिइएको छ। चीनले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सम्भावित थप विपद्बाट नागरिकलाई जोगाउने कार्यलाई तीव्रता दिइरहेको जनाएको छ।