Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिम्रो पदक पाउने पालो अर्को वर्ष !

छैठौँ संविधान दिवसको नाममा देशले समाजका लब्ध प्रतिनिष्ठित व्यक्तिहरू, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सम्झनाका लागि दिलाइने विभूषण तथा पदक पञ्चायतकाल, बहुदलकाल र गणतन्त्रात्मक व्यवथाको कम्युननिस्टकालमा पनि एकैखालको रह्यो । समाजका लागि राम्रो गर्नेले सरकारको सेवा तथा सम्मान पाउँदैन । शाहीकालमा प्रेस स्वतन्त्रता खोसियो । राज्यले प्रेसमाथि दमन गर्दा ठीक भन्नेलाई गत वर्ष पनि ओली सरकारले विभूषण दिएकै हो । एकाधबाहेक भ्रष्ट, असक्षमले पाउने हो त्यो । सरकारको अपराधमा समर्थन गर्नेलाई गुटको आधारमा पदक दिइएकै छ । नातावादलाई मात्र होइन, कम्युनिस्ट पार्टीको नाममा गुटको दलाली गर्नेलाई खोजेर पदक दिलाउने सिफारिस गर्ने समितिकै नाइके ओम्नी र थाम्सेर्कु जस्ता विवादास्पद कम्पनीका संरक्षक छन् । ती कम्पनीलाई दिनुपथ्र्यो पदक । जबकि पदक सिफारिस समितिको संयोजक गृहमन्त्री हुने कानुनी व्यवस्था हो । आलोचकलाई सेवा दिइँदैन ।
चाकडी, चाप्लुसी, ढाँट, छलकपट वर्तमान राजनीतिको पहिचान बनेको छ । ठाउँमा हुँदा आफ्नैलाई पुरस्कार र सम्मान दिने प्रवृत्ति नेपालीमा छ । कस्ताले पुरस्कार पाउने हो, कस्ताले विभूषण पाउने हो खोजी गर्ने झन्झटभन्दा आफ्नै दलाललाई दिलायो, टन्टा खलास । त्यो पनि नेकपाको ओली गुटबाट निष्पक्षताको खोजी गर्नु नै मूर्खताशिवाय केही होइन । यस्तै प्रवृत्ति प्रेस काउन्सिलमा छ । त्यो आज देखिँदैछ । ठूला–ठालुले गुटगतरूपमा अब दलालहरूलाई जबर्जस्त सञ्चारकर्मी बनाएर पुरसकार दिलाउन बाँकी छ । अरूको त तिनका नजरमा योग्यता पुग्दैन । चाकडी नगरे दिइँदैन । योग्यता कति पढ्नुपर्छ, चाकडी कति गर्ने हो ? आफ्नै साथीले पाएको विज्ञापन रोक्न ज्योति समूहको कार्यालय धाउने क्रान्तिकारी पत्रकारहरू भएको देशमा ओली सरकार र यसका सञ्चालकहरूले सबैतिर निष्पक्ष काम गर्न कसरी सक्छन् ? जसले अपराधको विरोध गर्छ, उसले पुरस्कार र सम्मान पाउने नियम छैन । त्यसको नमुना किशोर हुन् । एउटा कम्युनिस्टले अर्को कम्युनिस्ट समर्थकले पाएको सेवा–सुविधा खोस्नु जस्तो निष्कर्म अरू हुँदैन । तर नेकपा एमाले र माओवादी चरित्रले यो निष्कर्म प्रतिस्पर्धात्मक तवरले गरेका एक दर्जन नमुना छन् । दिनेले विश्वासले दिएपछि खोस्ने दुष्ट हुन् । गत वर्ष प्रेस काउन्सिलको कार्यवाहकलाई दिलाइएको पदवी खोसिएको प्रमाण पनि छ । सरकारले पदक तथा विभूषण बाँड्दा सफारिस जस्तो आयो, त्यस्तै भयो । सङ्कीर्ण चरित्र र अहङ्कारी स्वभाव भएकाहरूबाट आश गर्नुको अर्थ राख्दैन । संविधानअनुसार नेतृत्व चलेको भए पो सबैतिर निष्पक्षता हुन्छ । सबैतिर भद्रगोल र गुटबन्दी संविधान दिवसको पदक वितरणमा देखिनु ठूलो कुरा भएन । हिजो पनि अपराधी, तस्कर, राजस्व छल्नेले चन्दा दिन्थे, पदक तिनैले पाउँथे । यस्ता पदक हरेक वर्ष दिलाइएकै छ । गत वर्ष विवादास्पद भएर झन्डै २५० भन्दा बढीले पदक लिएनन् । यो कलमजीवीलाई यस्ता पदक हिजो राजाकै पालामा दिलाउन पत्रकारहरू निरोधराज पाण्डे, हरि लम्साल, स्व. जसोदा प्रधानले सिफारिस गर्छौं भनेका थिए । तर त्यसको महत्व नहुने, जसले पाए तिनै राजभक्तले २५ सयमा पदक बेच्छु भनेको सुनेकाले बहुदलकालमा पनि त्यस्ता विभूषण लिने रुचि भएन । पदकको आशा गर्नेहरूलाई नपाएकोमा डाहा हुन सक्छ । पत्रकारहरू नै पत्रकारका शत्रु हुन्छन् भन्ने कुरा समयबद्धले पाएको होन्डाको विज्ञापन रोक्न क्रान्तिकारीहरूको हैसियतले छर्लङ्ग पार्छ । होन्डाको विज्ञापन अहिले रोकियो । जो रोक्न गए, तिनले पनि पाएनन् र समयबद्धले पनि पाएन । आखिर व्यापारीले विज्ञापन गर्नु नै थियो भने डाहा गर्नेले पाउनुपर्ने हो ।
नेकपा एमाले पंक्तिमा यस्ता काम कति छन् कति । त्यहाँ त ओली गुटले माधव गुटमाथि साङ्घातिक हमलासमेत गथ्र्यो । जब ओलीले स्वघोषित गुण्डा दलको संरक्षक भए पर्शुराम बस्नेत, रमेश पौडेल, स्व. दिनेश अधिकारी चरी जस्ता गुण्डा दललाई युथफोर्समा समावेश गराए । त्यस बेला चमत्कार बाईसीएल र युथफोर्सकै थियो । लगानी नगरी कमाउने गणेश लामा, दीपक मनाङे, कुमार घैंटे, मिलन चक्रेहरू बालुवा, ढुङ्गा ठेकेदारीमा लागेको समय पनि थियो । विकृति र विसङ्गतिविरुद्ध लड्ने होइन, राष्ट्रको बजेट खर्चेर बिचौलिया हावी बनाइएको अवस्था अहिले छ । नेकपाको इज्जत र प्रतिष्ठा यिनैले ध्वस्त बनाइदिएका हुन् । पदका निम्ति लडेका नेताको क्षमता र हैसियत कोरोना कहरको छ महिनामा देखियो । गरिखाने वर्ग भोकै प¥यो । भ्रष्टाचारीहरू मौलाए । देशको इज्जत बचाएका खेलाडी, चिकित्सक, स्वयंसेवकले संविधान दिवसको अवसरमा पदक पाउनु उचित भएन । तर लुटाहा र भ्रष्टहरूलाई खोजी–खोजी पदक दिन सरकार पछि परेन । भाषण त प्रधानमन्त्रीले राम्रै गरे । पदक, विभूषण र पुरस्कार पनि त्यस्तै ढङ्गले दिलाइयो । हिजो ऋण लिएका व्यापारीलाई राजदरबारले पदक दिलाएको भनेर सञ्चार उद्यमी श्याम गोयन्काले नेपाली कागजको खाममा पदक राखेर आफ्ना कर्मचारीहरूमार्फत् वितरण गरेको पनि यही आँखाले देखेको हो । धन्न यस पटक पत्नी हत्यारा रञ्जन कोइरालाले रणकौशल पदक, चोलेन्द्र र सपना मल्ल प्रधानले हत्यारा छुटाएबापत सुप्रबल ओली दक्षिणबाहु पाएनन् ! कोरोना महामारी र बाढीपहिरोको बेला पीडितहरूको उद्दार गर्ने सुरक्षाकर्मीहरूको चासो कसले लेओस् ? ओम्नी समूह, थाम्सेर्कु समूह, हुमनाथ कोइराला, शारदा अधिकारीलाई पनि पदक तथा विभूषण दिलाउने काम छुटेछ । जग्गा मुआब्जा नदिई रेलको लिकमा माटो पुर्ने ठेक्का पाएका १८ भाइ पनि पदक पाउनबाट छुटे । २ अर्ब ५० करोड कमिसन छुट्ट्याएका दलाल र बिचौलिया पनि छुटे । त्यति मात्र होइन, हालै आपूर्तिमन्त्रीले प्याजमा कालो बजारी गर्ने छ व्यापारीलाई कारबाही गरे, उनीहरू पनि पदक पाउनबाट छुटे । सरकारले आगामी दिनमा छुटेपुटेकाहरूको नाम सङ्कलन गर्ला भन्ने अपेक्षा जनताले गरेको छ । पार्टी कार्यकर्ताले त कुन्नि !