Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिहार झलमल पार्ने प्राधिकरणको घोषणा

काठमाडौं । तीन वर्ष अघिसम्म बत्तीको पर्व तिहारमा लोडसेडिङ्ग व्यवस्थापन गर्न धौधौ परेको नेपाल विद्युत प्राधिकरणले यस पटक भने आन्तरिक उत्पादन नै प्रयोग गरेर देशभर उज्यालो बनाउने भएको छ । विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्ने भएको छ ।
यस पटकको लक्ष्मीपूजाको दिन आन्तरिक उत्पादनबाटै देशभर उज्यालो बनाउने प्राधिकरणले जनाएको छ ।
तीन वर्ष पहिले तिहारमा सहजरूपमा विद्युत् उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो । समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो । विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणा गरिएको थियो ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बताएका थिए । अघिल्ला दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत् उपलब्ध गराएको थियो ।
प्राधिकरणले अहिले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत् उपलब्ध गराइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत् आयात भइरहेको छ ।
यतिबेला मौसममा कुनै बदली नभएका कारण देशव्यापीरूपमा नै कहीँकतै पनि ‘ट्रिपिङ’को समस्या छैन । प्राधिकरणका अनुसार हाल प्रणालीमा कूल २१ हजार २७० मेगावाट घण्टा विद्युत् माग रहेको छ । त्यस्तै प्राधिकरणले हाल दैनिकजसो नै ५३३ मेगावाट विद्युत् भारत निर्यात गरिरहेको छ ।
प्राधिकरणले जगेडाका रुपमा कुलेखानीको तीनवटै आयोजना पनि राखेको छ । ती आयोजनाबाट कूल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र हालै सञ्चालनमा आएको कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ती आयोजना जलाशय प्रकृतिका भएका कारण पनि आवश्यक परेको समयमा मात्रै चलाउने गरी व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।


सम्बन्धित समाचार