Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावलाई लक्षित गरेर नयाँ राजनीतिक शक्तिहरूबीच एकता भएसँगै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले पनि सहकार्यको कसरत सुरु गरेका छन्। राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका विषयमा उनीहरूबीच छलफल चलिरहेको छ। संविधान निर्माणकर्ता दलहरूबीच सहकार्यको वातावरण बनाउने भन्दै कांग्रेसले यसको पहल लिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतका रुपमा नेता रमेश लेखकलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने जिम्मेवारी दिएका छन्। लेखकले एमाले अध्यक्ष ओलीलाई भेटेर संविधान निर्माणकर्ता दलबीच सहकार्यको प्रस्तावबारे दुई पटक छलफल गरिसकेका छन्। पछिल्लो पटक लेखकले शुक्रबार बिहान ओलीलाई भेटेका थिए। लेखकले यसै साता नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा लामो छलफल गरेका थिए। स्रोतका अनुसार लेखकको प्रस्तावमा ओली, प्रचण्ड र नेपाल सकारात्मक छन्। अहिले छलफलको केन्द्रमा भने राष्ट्रिय सभा निर्वाचन छ। यसअघि एमाले र नेकपा दुवैले कांग्रेससँग राष्ट्रिय सभामा तालमेल गर्ने प्रयास गरेका थिए। एमालेलाई लेखकको प्रस्तावपछि नै एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने धारणा राखेका थिए। नेपाली कम्युनिस्ट पार्टीका प्रचण्ड निकट नेता रामप्रसाद सापकोटाले लेखकले केही दिनअघि प्रचण्डलाई भेटेको बताए। राष्ट्रियसभा निर्वाचनमा एमाले, नेकपा र मधेसवादी दललाई पनि समेटेर लैजानुपर्ने कांग्रेसको प्रस्ताव छ। माघ ११ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। राष्ट्रिय सभाका १९ सदस्यको म्याद फागुन २१ गतेदेखि सकिँदै छ। जसमा एमालेका ८, मनोनीत वामदेम गौतमसहित नेकपाका नेकपाका ९, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन्। ११ गते १८ सदस्यको निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। छलफलमा सहभागी नेताहरूका अनुसार निर्वाचन हुने १८ सिटमा दलीय हैसियत अनुसार राष्ट्रियसभामा भागबण्डा गर्ने तयारी छ। कांग्रेसलाई ८, एमालेलाई ६, नेकपालाई ३ र मधेसवादी दललाई १ सिट बाँडफाँट गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ। ओली र प्रचण्ड दुवैले लेखकसँगको छलफलमा नयाँ राजनीतिक दलको संविधानप्रतिको प्रतिबद्धता प्रस्ट नभएकाले संविधान निर्माणकर्ता दल एक ठाउँमा आउनुपर्ने बताएका थिए। नयाँको विपक्षमा नभई कांग्रेस, एमाले र नेकपाबीचको सहकार्य देश विकास र संविधानको पक्षमा हो भनेर भाष्य निर्माण गरेर जानुपर्नेमा देउवा, ओली र प्रचण्डको एक मत छ। ओली र प्रचण्डसँग फेरि एकाध पटक छलफल गरेपछि तीनै पार्टीका दोस्रो तहका नेताहरू बसेर सहकार्यको खाका तयार गरिने स्रोतले बतायो। संविधान निर्माणकर्ता दलबीच सहकार्य गर्नु आजको आवश्यकता भएको भन्दै यसका लागि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा शेखर कोइराला पनि तयार छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संविधान पक्षधरहरू, वर्तमान व्यवस्था ल्याउन सहकार्य गरेका दलहरूबीच पुनः एक पटक आपसी एकता र सहकार्य जरुरी रहेको बताए। यद्यपि, तालमेलका विषयमा पर्याप्त छलफल हुनुपर्ने उनले बताए। रास्वपा, उज्यालो नेपाल र बालेन शाहको समूहबीच एकता भएपछि पुराना राजनीतिक दलबीच सहकार्यको गृहकार्य सुरु भएको हो। तीन ठूला दल आपसमा लड्दा ‘बतासे’हरूले मौका पाउनेतर्फ सचेत हुनुपर्ने विश्वकर्माको सुझाव छ। भोट ट्रान्सफर हुनेगरी सहकार्य गरिनुपर्ने र राष्ट्रिय सभामा मतभार पनि हेरिने उनले बताए।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल