Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यसो भए गोली हान्ने को हो त पूर्व प्रधानमन्त्रीज्यू ?

काठमाडौं । मुलुकको शासन सत्ता हातमा लिएर बसेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा ज्यान बचाउन सेनाको शरणमा पुगे । जब अवस्था अलि साम्य हुँदै गयो अनि आफू निर्दोष सावित गर्ने शैलीमा प्रस्तुत भएका छन् । नेपाल प्रहरीसँग हुँदै नभएको हतियारबाट गोली हानिएको दाबी ओलीले गरेका छन्। संविधान दिवसका अवसरमा असोज ३ गते शुभकामना सन्देश जारी गर्दै उनले यही भदौ २३ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन सरकारबाट भएको दमनलाई गम्भीर र रहस्यमय रूपमा प्रस्तुत गरेका हुन्। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन’, एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्, ‘प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु। देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न स्थानमा गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ युवा मारिएका थिए। जसमा बानेश्वरमा मात्र १७ जना मारिएका थिए भने २ जना विराटनगरमा मारिएका थिए। यस्तो छ, ओलीको पूरा वक्तव्य– आज संविधान दिवस । नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैंले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं । उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं । हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं । हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो ।

गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो । सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुस्ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौं । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ– नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ ।

जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो रु यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ । विदेश जानेरआउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ । हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।

तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ । देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो । यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्–झन् गाढा सम्झना गराउने छ ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ– सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न । सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ ।

मेरो सबैमा अपील छ–

संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल