Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यो त नाटक मात्रै हो सरकार !

काठमाडौं । पछिल्लो १० वर्षमा कृषि पेशाबाट पलायन हुने जनसंख्याको आकार १३.५ प्रतिशत पुगेको छ । जसको असर समग्र अर्थतन्त्रमा पर्न थालेको सरकारी अध्ययनबाट देखिएको छ । आर्थिक वर्ष २०६८ /६९ देखि चालु आर्थिक वर्षको अन्त्यसम्म कृषि, वन र मत्स्यपालनबाट कृषकहरु पलायन हुने दर बढेको हो । नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार २०६८/६९ मा ७३.९ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेकोमा सो दर अहिले घटेर ६०.४ प्रतिशतमा झरेको छ ।

कृषिमा आधारित जनसंख्या पलायनको असर मुलुकको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पुर्‍याउने योगदानमा पनि देखिएको छ । १० वर्षको अविधिमा कृषिबाट जीडीपीमा हुने योगदान ६.९ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०६८/६९ मा जीडीपीमा कृषिको योगदान ३२.७ प्रतिशत रहेकोमा चालु आवको अन्तिमसम्म यो आकार २५.८ प्रतिशत मात्रै रहने सरकारी अनुमान छ ।

कृषिमा आश्रित सक्रिय जनसंख्या घट्नुको कारण कृषि विकासमा अवलम्बन गरिएको व्यवसायीकरण र आधुनिकी करण प्रमुख भएको सरकारी दाबी छ । झट्ट हेर्दा कृषिबाट जनशक्ति पलायन हुनु नराम्रो जस्तो देखिए पनि कम जनसंख्याबाट ठूलो व्यावसायिक उत्पादनलाई जोड दिइएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. श्रीराम घिमिरे बताउँछन् । जीडीपीमा कृषिको योगदान घटाउने तर आकार बढाउने नीतिअनुसार कृषिको आधुनिकीकरण र व्यवसायिकतामा ध्यान दिइएको उनले बताएका छन् ।

कृषिबाट पलायन भएको जनसंख्या अर्थतन्त्रको अर्को क्षेत्रमा गएर योगदान गरिहेका छन्, हामी कम आश्रित कृषि जनसंख्याबाट प्रविधिको प्रयोगसँगै मास उत्पादनमा जान चाहन्छौ यसलाई नकारात्मक मान्न हुँदैन, सहसचिव डा. घिमिरेले भनेका हुन् । अमेरिकामा तीन प्रतिशत जनसंख्याले गरेको कृषि उत्पादनले मुलुकको मागलाई धानेको जस्तै नेपाल पनि सोही बाटोमा रहेको उनले प्रष्ट्याएका छन् ।

कृषिको कुल ग्राहस्थ उत्पादनमा योगदान र जनशक्ति घट्नु कृषि विकासको सूचक भएको उनले दाबी गरे । कृषिमा राम्रो अवसर नपाएर पेशा परिवर्तन भएको रुपमा यसलाई व्याख्या गर्न चाहिं कृषिमा रहेका जनशक्तिले राम्रो अवसर नपाएको हुनुपर्ने उनको भनाइ छ । औद्योगिक विकासको गतिले परम्परागत कृषि छोडेर मानिसहरु सेवा र उद्योग क्षेत्रमा प्रवेश गरेका कारण यो तथ्यांक देखिएको कृषि विज्ञ उत्तरकुमार भट्टराई बताउँछन् । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान प्रतिशतमा नभई रुपैयाँमा गणना गर्नुपर्नेमा उनले जोड दिए । कृषिका जनशक्ति उद्योग र सेवामा प्रवेश भएका छन्, नेपालको परम्परागत खेती प्रणालीमा आधारित आर्थिक जग अब पर्यटन, सेवा र उद्योगमा सर्दैछ भट्टराईले ताजानेपालालाई भने ।


सम्बन्धित समाचार