Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थरुहट मोर्चाले दियो शसक्त आन्दोलनको चेतावनी

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । यही भदौ ७ देखि ९ गतेसम्म कैलालीको टिकापुरमा भएको राष्ट्रिय सम्मेलनले थारुको संयोजकत्वमा एकसय एक सदस्यीय मोर्चा गठन गरेको हो । मोर्चाको प्रवक्तामा मिनराज चौधरी, महासचिव तुलसी थारु रहेका छन् ।
यसका साथै सम्मेलनले विभिन्न निर्णयहरु गर्दै विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनमा जोड दिएको छ । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसहित आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।
टिकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता र निःसर्त रिहाइको माग गरेको छ ।
यस्तै टिकापुर घटनाबारे छानविन गर्न तत्कालिन सरकारबाट गठित पूर्व न्यायाधीश गरिशचन्द्र लाल नेतृत्वको न्यायीक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका लागि पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।
२०७२ साल भदौ ७ गते भएको घटनामा सात सुरक्षाकर्मीसहित एक बालकको मृत्यु भएको थियो । यस्तै मोर्चाले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यअनुरुप संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ ।
तीन चरणको संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाले टिकापुर घटना भएको दिन भदौ ७ लाई हरेक वर्ष थरुहट आन्दोलनको विद्रोह दिवसको रुपमा मनाउनेदेखि अनिश्चितकालिन बन्दका कार्यक्रमसम्म रहेका छन् ।
पहिलो र दोस्रो चरणको संघर्षका कार्यक्रमको मिति तय गरिए पनि तेस्रो चरणको आन्दोलनको कार्यक्रमको मिति भने सार्वजनिक गरिएको छैन ।


सम्बन्धित समाचार