Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिणका अगाडि किन झुक्छ सत्ता ?

काठमाडौँ । दक्षिणका शासकहरुका अगाडि शरण पर्नु नेपाली राजनीतिको विशेषता हो । तर एउटा योग गुरुका अगाडि पनि शासकहरु नतमस्तक भएको देख्दा लागे लाग्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बूढानीलकण्ठ नगरपालिका–८, मन्डिखाटारस्थित पतञ्जलि योगपीठको नेपालस्थित कार्यालयमै गएर विदेशी लगानीका स्याटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’ उद्घाटन गरे का छन्। त्यस कार्यक्रममा सत्ता गठबन्धनका नेताहरुको जन्ती नै पुगेको थियो । देउवाले उद्घाटन गरेका यी दुई च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर पतञ्जलिका टेलिभिजन विभागमा दर्ता छैनन् । पतञ्जलिले टेलिभिजन सञ्चालनको इजाजत नलिएको देखिएकाले बिनाअनुमति सञ्चालन गरेका विषयमा अध्ययन गर्नेसमेत उनले बताए । यी टेलिभिजनमा भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलिको लगानी रहेको जनाइएको छ । पतञ्जलि कम्पनीमा आचार्य बालकृष्ण र योगगुरु रामदेवको लगानी छ । अनुमति लिन संस्था दर्ताको आधिकारिक प्रमाणपत्र, स्पष्ट उद्देश्य खुल्ने संस्थाको विधान, उक्त टेलिभिजनमा प्रयोग हुने उपकरण तथा जिओकोर्डिनेटेड टोपोग्राफिक नक्सालगायत चाहिन्छ । सम्बन्धित घरधनीको जग्गाधनी लालपुर्जा र मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपिलगायत विवरण पनि सूचना तथा प्रसारण विभागमा बुझाउनुपर्छ । इजाजत अनुमतिपत्र लिन आउँदा संस्थाका सञ्चालकहरूको चारित्रिक अवस्था र चालचलन बुझी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रसमेत विभागले हेर्ने गरेको छ । पतञ्जलिका गैरकानुनी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत पुगेका थिए । आध्यात्मिक र आयुर्वेदसँग सम्बन्धित कार्यक्रम उत्पादन गर्ने भनिएका ती टेलिभिजन व्यावसायिक उद्देश्यले आएको जनाइएको छ । उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बाचासमेत गरेका छन् ।