Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दयाहाङको ‘जारी’लाई काखा र ‘बिहे पास’लाई पाखाको व्यवहार

अभिनेता दयाहाङ राईले आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको आफ्ना दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’मध्ये एउटालाई काखा र अर्कोलाई पाखाको व्यवहार गरेको देखिएको छ । आफ्ना दुवै चलचित्र नजुधोस् भन्ने उनले चाहँदा चाहँदै त्यो सम्भव भएन । दुवै चलचित्र भिड्ने नै भएपछि उनले प्रचारमा दुवैलाई साथ साथ लैजानु पर्थ्यो । तर, उनले ‘जारी’लाई बढी नै काखी च्यापेका छन् ।
उनको फेसबुक हेर्ने हो भने ‘जारी’मय छ । उनले कहिले यो चलचित्रसँग सम्बन्धित समाचार त कहिले पोस्टर, टिजर, गीत र ट्रेलर सेअर गरेका छन् । जनवरी २२ देखि मार्च ८ सम्म उनको फेसबुकमा २४ वटा पोस्ट ‘जारी’को मात्र छ । ‘बिहे पास’को भने ट्रेलर, दुईवटा पोस्टर, एक गीत र टिजरको मात्र पोस्ट उनको फेसबुकमा छ । यसबाट नै उनले ‘बिहे पास’लाई गरेको व्यवहार देखिन्छ ।
अहिले उनी अभिनीत चलचित्र ‘नाङ्गो गाउँ’को काभ्रेमा छायांकन भैरहेको छ । तर, उनले यो चलचित्रको छायांकनबाट समय मिलाएर ‘जारी’को प्रचार गर्न काठमाडौं आउजाउ गरिरहेका छन् । बुधबार उनले ६,७ घन्टसम्म चलचित्रको बारेमा मिडियामा अन्तर्वार्ता दिए । तर, ‘बिहे पास’का लागि उनले एक घण्टा पनि समय दिएका छैनन् । हुन त चलचित्रको टिमले नै प्रचारमा चासो देखाएको छैन ।
उनले ‘जारी’लाई काखी च्याप्नुको कारण यो उनको घरको चलचित्र जस्तै हो । ‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङको निर्माण र ‘कबड्डी’ श्रृंखलाकै लेखक उपेन्द्र सुब्बाको निर्देशन भएकाले उनले यो चलचित्र प्राथमिकता दिएका हुन् । तर, ‘बिहे पास’ पनि आफ्नै सन्तान हो भन्ने दयाहाङले विर्सनु हुन्न । कमसेकम सामाजिक सञ्जालमै भए पनि उनले ‘बिहे पास’लाई राम्रो स्थान दिनुपर्छ ।