Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाइजो प्रथा बिरुद्ध शिक्षिकाले सुरु गरिन् आन्दोलन

३१ असार, काठमाडौं ।  दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् ।

यो गैरकानुनी प्रथाको उन्मुलनका लागि भारतको मध्यप्रदेशकी एक शिक्षिकाले आन्दोलन सुरु गरेकी छिन् । दाइजो बिना नै बिहे गर्ने अडानमा रहेकी २७ सालकी उनले बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन दिएकी छिन् ।

दाइजोका कारण दजर्न बढी केटाका परिवारले आफूलाई बुहारी बनाउन नचाहेपछि उनी प्रहरीमा पुगेकी हुन् ।

पछिल्लो पटक गत फेब्रुअरीमा उनका पिताले केटाको एउटा परिवारलाई बिहेको कुराकानीका लागि बोलाएका थिए ।

केटाको परिवार कुराकानीका लागि आएपछि ती शिक्षिका चिया नास्ता लिएर बैठक कोठामा गइन् । उनले त्यो दिन सम्झिन्, यो धेरै मुस्किलस्थिति थियो, सबैजना मलाई घुरेर हेरिरहेका थिए, त्यो देख्दा लाग्थ्यो कि उनीहरुले मेरो शरीरको नापतौल गरिरहेका छन् ।

ती शिक्षिकाका अनुसार केटा पक्ष आउनुअघि नै उनलाई कसरी प्रस्तुत हुने, कुन लुगा लगाउने, कसरी हाँस्ने भनेर आमाले सिकाएकी थिइन् ।

आमाको रोजाइको हरियो रंगको लुगामा उनी राम्री देखिन्थिन् । दाँत त्यति राम्ररी नमिलेका भएर आमाले दाँत देखिने गरी नहाँस्न भनेकी थिइन् । यो सबै कुरा ती शिक्षकाका लागि नयाँ र नौलो थिएन । किनकी यो सिलसिला पछिल्लो ६ वर्षदेखि चलिरहेको थियो । हरेक पटक केटा पक्षबाट कति पढेकी छौ, के काम गर्छौ, खाना बनाउन आउँछ कि आउँदैन भन्ने प्रश्नको सामाना उनले गर्नु परेको छ ।

ती शिक्षिकाले चिया नास्ता लिएर बैठक कोठामा छिर्नुअघि आफ्ना पिता र केटाका पिताबीच दाइजोको बारेमा कुराकानी गरेको सुनेकी थिइन् ।

ती शिक्षिकाका अनुसार केटाका बाबुले भनेका थिए, ५०,६० लाख त चाहिहाल्छ नि, केटी राम्री रहिछन् भने केही छुट गरौँला ।

बिदा हुने बेलामा केटाका बाबुले दाइजो रकममा कुनै छुट नदिने बताएको उनले थाहा पाइन् । शिक्षिकाका नमिलेका दाँत र निधारमा भएको दागले गर्दा उनका बाबुले दाइजो रकमा कुनै छुट पाएनन् ।

चिया नास्तापछि केटा र केटीलाई एकान्तमा कुराकानी गर्न पठाइयो । ती शिक्षिकाले केटालाई आफू दाइजो दिएर बिहे गर्न तयार नभएको बताइन् । केटाले दाइजोलाई सामाजिक कुरिती भने । यो सुनेर ती शिक्षिकाले यी केटा आफूले भेटेका अरु केटा भन्दा फरक रहेछन् भन्ने ठानेकी थिइन् ।

तर उनको त्यो ठम्याइँ गलत सावित भयो । दाइजो बिना यो परिवार बिहेका लागि तयार भएन ।

पिताले बल्ल बल्ल खोजेको केटासँग दाइजो बिना नै बिहे गर्नु भनेकोमा ती शिक्षिकासँग उनकी आमा धेरै रिसाइन्, एक(दुई हप्ता आमा छोरीको बोलचाल नै भएन ।

ती शिक्षिकाका अनुसार उनको बिहेका लागि बाबुले संभावित ज्वाइँका १०० देखि १५० जनासम्म कुराकानी गरेका होलान् । जसमध्येका दुई दर्जन बढी परिवारसँग त उनको प्रत्यक्ष भेटघाट र कुराकानी नै भएको हो । ६ वटा परिवारलाई त उनले घरमा चिया नास्ता नै खुवाइएकी छिन् ।

गणितमा स्नातकोत्तर गरेकी र शिक्षण पेशामा रहेकी उनी दाइजोकै कारण बिहे हुन नसकेपछि आफ्नो आत्म विश्वास टुटेको बताउँछिन् ।

उनले दाइजो प्रथाका बारेमा धेरै सोच विचार गरेर प्रहरीमा निवेदन दिन पुगेकी बताइन् । मलाई लाग्छ ममा केही कमी छैन, हालैको एक अध्ययन अनुसार भारतका ९० प्रतिशत बढी परिवारले दाइजो लेनदेन गरेका छन् ।

दाइजो दिएर केटा पक्षलाई खुसी बनाउँदा पनि भारतीय युवती दाइजोकै निहुँमा मारिने गरेका छन् ।

राष्ट्रिय अपराध रेकर्ड ब्यूरोका अनुसार सन् २०१७ देखि २०२२ को ५ वर्षमा दाइजोको निहुङ्गा ३५ हजार ४३९ हत्या भएका छन् ।

दाइजोकै कारण भारतमा लैंगिक अनुपात विग्रिएको छ । संयुक्त राष्ट्र संघका अनुसार भारतमा हरेक वर्ष कम्तिमा पनि ४ लाख बालिकाको भ्रुण हत्या हुने गरेको छ ।

भारतको भोपालका प्रहरी कमिस्नर हरिनारायण चारी मिश्रसमक्ष निवेदन बुझाएकी ती शिक्षिका दाइजो रोक्नका लागि प्रहरीले बिहेको जग्गेमा निगरानी गर्ने र छापा मार्नु नै उत्तम बिकल्प रहेको बताउँछिन् । भन्छिन्, यस्तो भएमा सजायको डरले यसमा रोक लाग्ने छ ।

प्रहरी कमिस्नर मिश्र दाइजीलाई सामाजिक कुरिती मान्छन् । उनी दाइजो प्रथा समाप्त पार्नका लागि प्रहरी प्रतबिद्ध रहेको बताउँछन् । मैंले सबै प्रहरी स्टेशनलाई निर्देशन दिएकी छु कि कुनै पनि महिला मद्दका लागि आउँछन् भने उनीहरुलाई तत्काल सहयोग गर, उनले भने ।

उनी प्रहरीका पनि आफ्नै सीमा रहेको बताउँदै हरेक बिहेको मण्डपमा उपस्थित हुन नसक्ने बताउँछन् । तर मानसिकतामा परिवर्तन ल्याउनका लागि अभियान चलाउनु पर्ने उनी बताउँछन् ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने कविता श्रीवास्तवका अनुसार प्रहरीले चाहेमा सहयोग गर्न सक्छ, तर दाइजो प्रथा निमिट्यान्न पार्न ठूलो चुनौती छ । ‘दाइजोका बारेमा कानुन नै छ, हामीले त्यो कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ, उनी भन्छिन् ।

श्रीवास्तवका अनुसार कतिपय लोभी परिवारले बिहेको धेरै वर्षपछि पनि बुहारीका आमाबुबासँग दाइजो माग्ने गरेको बताउँछिन् । युवाले दाइजो लिन र दिन नमानेमा यो प्रथामा आफैं हटेर जाने उनी सुनाउँछिन् ।