Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दानबहादुर कार्कीको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ हुन सकेन

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट हटाइएको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज अन्तरिम आदेशबारे सुनुवाइ हुन सकेन।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवै पक्षबाट बहस हुने कार्यतालिका थियो। तर, नयाँ प्रहरी महानिरीक्षक मनोजकुमार केसी उपस्थित नभएपछि सुनुवाइ रोकिएको हो।

केसीले म्याद बुझिनसकेका कारण आजको सुनुवाइ स्थगित भएको बताइएको छ। यद्यपि, उनी पक्षका कानुन व्यवसायीले भने आफूहरूले म्याद नै प्राप्त नगरेको बताएका थिए।

केसी उपस्थित नभएको विषयमा इजलासले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग जवाफ मागेको थियो। त्यसपछि अदालतले अर्को सुनुवाइमा केसीलाई उपस्थित गराउन र मुद्दाको पेसी पहिलो नम्बरमा राख्न आदेश दिएको छ।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। इजलासले मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयको प्रमाणित प्रतिलिपि तथा अन्य सम्बन्धित कागजात पेस गर्न पनि भनेको थियो। साथै, सरकारका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

मुद्दाको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै सर्वोच्चले यसलाई अग्राधिकारसमेत दिएको थियो।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।