Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दीपावलीको दियोले करोडौंको क्षति

काठमाडौं । तिहारको दोस्रो दिन दीपावली गर्ने क्रममा ठाउँ ठाउँमा आगलागी भएको छ। यी आगलागीबाट विभिन्न स्थानमा करोडौँको क्षति भएको केन्द्रीय प्रहरी सञ्चार कक्षले जानकारी दिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका ४ लोलाङ्ग हाइट गणेश मन्दिर नजिक ३३ वर्षीय सविन कार्कीले संचालन गरेको ब्याम्बो नियासा सुज प्रालिमा सोमबार साँझ आगलागी हुँदा ठूलो क्षति भएको छ। आगलागीबाट सुज प्रालिसँगैको गोर्खाली फुडल्याण्ड एण्ड रेष्टुरेण्ट र मोटरसाइकल वर्कसपमा समेत क्षति भएको छ । आगलागीको खबर प्राप्त भएपछि प्रहरी वृत्त बालाजु लगायत अन्य प्रहरी इकाइबाट खटिएको प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, पानी ट्याङकर र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। ठूलो क्षति भए पनि एकिन विवरण आएको छैन।
सोमबारै राति दक्षिणकाली नगरपालिका ६ कोछुटोलस्थित अशोक कर्माचार्यको फर्निचरमा सोमबार राति आगलागी हुँदा फर्निचर मेसिन र काठपात जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका १ भोर्लेटारस्थित टोखा नगरपालिका ३ बस्ने ४४ वर्षीय किरण प्रधानको ब्रोइलर कुखुरा फार्ममा चल्ला तातो पार्न बाल्ने भुसाबाट मंगलबार बिहान आगलागी हुँदा २ हजार २ सय बोइलर कुखुराको चल्ला र टहरा जलेर ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। सिरहाको नरहा गाउँपालिका २ पानबारीका बन्सिलाल यादवले गोलबजार नगरपालिका ४ स्थित बन्सी फेसन हब कपडा पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ।

संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खुलाल टोल बस्ने मानध्वज खुलालको घरमा बिद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ३० लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
रामेछापको उमाकुण्ड गाउँपालिका २ तार्जे बस्ने राम बहादुर खड्काको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घरसहित सबै सामान जलेर करिब २८ लाख ७० हजार रूपैयाँ बराबरको क्षति भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका ६ गोबरी चोक बस्ने धर्मेन्द्रलाल श्रीवास्तवको श्रीवास्तव इलेक्ट्रोनिक पसलमा विद्यतु सर्ट भई सोमबार राति आगलागी हुँदा ५ लाख रूपैयाँ बराबरको क्षति भएको छ। सल्यानको कुमाख गाउँपालिका ४ स्यानिपिप्ली बस्ने हिरे रानाको घरमा विद्युत तार सर्ट भई सोमबार राति आगलागी हुँदा घरसहित करिब १० लाख रूपैयाँ बराबरको सामान जलेको छ।
तनहुँको ब्यास नगरपालिका १ भादगाउँ घर भएकी मनिसा कुमालले त्यही नगरपालिका २ सफा सडकस्थित संचालन गरेको नेम्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका २ कोटडाडाँ बस्ने सुरेश आले मगरको आले मोटरसाइकल वर्कसपमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा मोटरसाइकलका पाटपुर्जाहरु जलेर करिब ७ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका १४ स्थित दाजुभाइ फर्निचर पसलमा विद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा फर्निचर पसलको सम्पूर्ण सामान जलेर करिब ६ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।