Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुइ महारथी २०२६ विश्वविजेता बन्न आज १२.४५ भिड्दै

३ साउन, काठमाडौं । ४८ टोली, १०४ खेल र अन्तिममा एक विजेता । ९६ वर्ष लामो विश्वकप इतिहासको २३औं संस्करण अन्ततः यस्तो मोडमा आइपुगेको छ, जहाँ फेरि एकपटक नयाँ इतिहास लेखिने तयारी भइरहेको छ ।

एउटा टोली लगातार दोस्रो विश्वकप जित्दै फुटबल इतिहासमा दुर्लभ उपलब्धि हासिल गर्ने लक्ष्यमा छ भने अर्को टोली १६ वर्षपछि फेरि विश्व फुटबलको सर्वोच्च सिंहासनमा फर्किने सपना बोकेर मैदान उत्रँदैछ ।

एकातिर आठौं पटक विश्वकप फाइनल खेल्न लागेको अर्जेन्टिना छ, जसको केन्द्रमा अझै पनि लियोनल मेसी छन् । अर्कोतिर युवा जोश, तीव्र आक्रमण र आकर्षक फुटबलले विश्वलाई प्रभावित बनाएको स्पेन छ, जसले दोस्रो विश्वकप उपाधि जित्ने अवसर खोजिरहेको छ ।

अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल दुई टोलीबीचको उपाधि भिडन्त मात्र होइन, दुई पुस्ता, दुई शैली र दुई फरक फुटबल दर्शनबीचको निर्णायक संघर्ष पनि हुनेछ ।

अनुभवी मेसीले आफ्नो ऐतिहासिक करियरमा अर्को स्वर्णिम अध्याय थप्ने प्रयास गर्नेछन् भने १८ वर्षीय लामिन यमाल विश्व फुटबलको नयाँ युग सुरु गर्ने लक्ष्यमा हुनेछन् । त्यसैले यो फाइनलमा केवल ट्रफीको मात्र होइन, फुटबलको भविष्य कसको हातमा जाने भन्ने प्रश्नको पनि उत्तर खोजिनेछ ।

समूह चरणदेखि नै अपराजित रहेर दुवै टोलीले आफू किन उपाधिका प्रमुख दाबेदार हुन् भन्ने प्रमाणित गरेका छन् । अर्जेन्टिनाले कठिन नकआउट यात्रा पार गर्दै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो भने स्पेनले प्रतियोगिताभर नियन्त्रणमा आधारित आक्रामक फुटबल खेल्दै सबैभन्दा प्रभावशाली टोलीमध्ये एकको छवि बनाएको छ ।

अब बाँकी छ केवल ९० मिनेट, वा आवश्यक परे त्यसपछि थपिने समय । त्यसपछि विश्वकप फुटबलले २३औं संस्करणको च्याम्पियन पाउनेछ ।

युरोपियन च्याम्पियन स्पेनले सेमिफाइनलमा उपाधिका प्रमुख दाबेदार फ्रान्सलाई पूर्ण रूपमा नियन्त्रणमा राख्दै फाइनल यात्रा तय गरेको थियो । लामो समय बल आफ्नो नियन्त्रणमा राख्ने शैली र सटीक फिनिसिङका कारण स्पेन प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ ।

स्पेनले समूह ‘एच’ को सुरुवात भने सहज गर्न सकेन । सबैलाई आश्चर्यमा राखेको टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो भने उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेता बन्यो ।

त्यसपछि अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई दुवै खेलमा अन्तिम समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतमा पराजित गर्‍यो। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ ।

अब सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनल खेल्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ ।

कोपा अमेरिका विजेता तथा विश्वकपको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको यात्रा भने स्पेनको तुलनामा निकै कठिन रह्यो ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्यो । अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक, अस्ट्रियाविरुद्ध दुई गोल तथा जोर्डनविरुद्ध अर्को उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले समूह चरण सहजै पार गर्‍यो ।

तर त्यसपछि प्रत्येक चरणमा अर्जेन्टिनाले संघर्ष गर्नुपर्‍यो । अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध ७९औं मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्ट्याउँदै ऐतिहासिक पुनरागमन गर्‍यो ।

क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा पराजित गरेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै फाइनल यात्रा तय गर्‍यो । एन्थोनी गोर्डनको गोलले पछि परेको अवस्थामा एन्जो फर्नान्डेज र बेञ्चबाट आएका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो फाइनलमा पुर्‍याएका थिए ।

अब अर्जेन्टिना ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्ने अवसरलाई नतिजामा बदल्ने लक्ष्यमा छ ।

स्पेन र अर्जेन्टिनाबीच विश्वकपमा यसअघि केवल एकपटक मात्र भेट भएको थियो ।

सन् १९६६ मा भएको उक्त खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो । लुइस आर्टिमेले अर्जेन्टिनाका दुवै गोल गरेका थिए ।

दुवै टोलीबीच विश्वकप बाहिर भने १३ पटक मैत्रीपूर्ण खेल भएको छ । त्यसमा स्पेनले ६, अर्जेन्टिनाले ५ जित निकालेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् ।

दुवै टोलीबीचको पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।

अर्जेन्टिनाका लागि सबैको नजर फेरि एकपटक लियोनल मेसीमाथि हुनेछ । आठ गोलसहित गोल्डेन बुटको दौडमा कायमै रहेका मेसी प्रतियोगिताका सर्वाधिक प्रभावशाली खेलाडीमध्ये एक हुन् ।

स्पेनका लागि युवा स्टार लामिन यमाल, कप्तान रोड्री, डानी ओल्मो र सेन्टरब्याक जोडी आयमेरिक लापोर्टे–पाउ कुबार्सी निर्णायक बन्न सक्छन्

अर्जेन्टिनाका लागि मेसीसँगै जुलियन आल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज तथा गोलकिपर एमिलियानो मार्टिनेज पनि मुख्य खेलाडी रहनेछन् ।

स्पेनका युवा स्टार लामिन यमाल ट्रेनिङमा नदेखिएको भन्ने चर्चा भइरहेको भएपनि यसबारेमा कुनै आधिकारिक जानकारी छैन । स्पेनको नियमित टोली पूर्णरूपमा फिट नै रहेको जानकारी छ ।

यता अर्जेन्टिनाको टोलीमा पनि कुनै समस्याको खबर छैन । यसअघि सुरुवात गरेका र बेन्चबाट आएका सबै खेलाडी समाचार तयार पार्दासम्म खेल्न फिट अनि योग्य नै छन् ।

स्पेनको सम्भावित ११ उनाइ सिमोन पेड्रो पोरो, आयमेरिक लापोर्टे, पाउ कुबार्सी, मार्क कुकुरेला रोड्री, फाबियन रुइजस लामिन यमाल, डानी ओल्मो, एलेक्स बाएना मिकेल ओयरजाबाल

अर्जेन्टिनाको सम्भावित ११ एमिलियानो मार्टिनेज नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास टालियाफिकोस लिएन्ड्रो पारेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमियोनेस लियोनल मेसी, जुलियन अल्भारेज