Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार गरी ३४ सदस्य सहभागी छन्।
यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।
प्रधानमन्त्री शाह नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल जानेछन्। त्यहाँ आज साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। पहिलो दिनका लागि यसबाहेक अन्य औपचारिक भेटघाट तथा कार्यक्रम तय गरिएको छैन।

प्रधानमन्त्री शाहको भ्रमणको दोस्रो दिन अर्थात् मंसिर ७ गते उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कार्यक्रम तय भएका छन्।
कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। सो क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रमसमेत छ।
भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा दुवै प्रधानमन्त्रीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ।
मोदीसँगको भेटवार्तामा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ।
त्यसैगरी, दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य बढाउने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ।
भ्रमणको दोस्रो दिन नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले अपराह्न ३ बजेर १५ मिनेटमा राष्ट्रपति मुर्मुसँग भेट गर्नेछन्।
राष्ट्रपति निवासमा हुने भेटवार्तापछि प्रधानमन्त्री शाह अपराह्न ४ बजेर ५० मिनेटमा नयाँदिल्लीबाट स्वदेश फर्किने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहितमा केन्द्रित रहेको जनाएको छ। यस भ्रमणबाट नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध थप सुदृढ हुने तथा दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य र साझेदारी विस्तार हुने अपेक्षा गरिएको छ।
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल