Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउराली बचत तथा ऋण सहकारीपीडितलाई सम्पर्कमा आउन अनुरोध

काठमाडौं । ललितपुरस्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

आफ्नो रकम हिनामिना भएको भए व्यहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्तामा अनुरोध गरेको हो । संस्थाका अध्यक्षसहित पदाधिकारीले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितबाट साढे चार करोड रुपैयाँ ठगी भएको भनेर उजुरी प्राप्त भएको बताए । बाँकी कोही पीडित छन् भने सम्पर्कमा आउनका लागि सूचित गरिएको उनले जानकारी दिए ।

उक्त सहकारीका पदाधिकारीले निक्षेपकर्तालाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तिनको रकम मुद्दती, निक्षेप, आवधिक, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितले हिनामिना गरेका थिए ।

सहकारीबाट मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवाब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए । तर, बचत गरिएको रकमको साँवाब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडित प्रहरीसमक्ष आइपुगेका थिए । पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडितले उजुरी दिएका प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्राप्त उजुरीमा चार करोड ५० लाख रुपैयाँ अपचलन र हिनामिना गरेको उल्लेख रहेको सीआईबीका प्रहरी उपरीक्षक अधिकारीले बताए । सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ । रासस