Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको गृहजिल्लामै लफडा

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन शुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया शुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । बाँकी वडामा पनि अधिवेशन शुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।
कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ग्याइ गरिएको अधिवेशनमा आफूहरुको सहभागिता नहुने न्युज कारखानालाई बताए । सभापति देउवा पक्षधरले एकलौटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।
कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको आरोप छ । त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।
नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।