Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको पेलाईमा शेखर, वरियता २० बाट २७औंमा

काठमाडौँ । डा. शशांक र सुजाता कोइरालालाई कोइराला क्याम्पबाट फुटाउन नसकेको भए शायद कांग्रेस सभापति शेरबहादुर देउवाका लागि महाधिवेशन महंगो सावित हुन सक्थ्यो । उनले आफ्ना डमी उम्मेदवार विमलेन्द्र निधि र प्रकाशमान सिंह खडा गरेर कोइराल परिवार भाँडेर यस पटक सभापति बन्दा कोइराला परिवारको नेतृत्ग गरेका शेखर कोइरालाले दह्रो उपस्थिति जनाए । सभापति देउवा अहिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएर आफूसँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालालाई कमजोर पार्ने राख्ने रणनीतिमा अघि बढेका छन् । केन्द्रीय कार्यसमितिमा मनोनयन र राष्ट्रिय सभा उम्मेदवारी तय गर्दा उनको रणनीतिको चित्र देखिन थालेको छ । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट ६ जना उम्मेदवार टुंगो लगायो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल काठमाडौं, गण्डकीमा कमला पन्त गोरखा, लुम्बिनीमा युवराज शर्मा बाँके, कर्णालीमा दुर्गाकुमारी गुरुङ सुर्खेत र सुदूरपश्चिममा नारायण मिश्र कञ्चनपुरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । एक केन्द्रीय सदस्यका अनुसार देउवाले पन्त र मिश्रलाई पौडेलको प्रस्तावमा उम्मेदवार बनाएका हुन् । महाधिवेशनमा कोइराला प्यानलबाट सहमहामन्त्रीमा चुनाव लडेकी भए पनि पन्त पौडेलनिकट मानिन्छिन् । सुदूरपश्चिम प्रदेश सभापतिमा चुनाव लडेका मिश्र पनि पौडेलका विश्वासपात्र मानिन्छन् । १३ औं महाधिवेशनमा देउवासँग सभापतिमा भिडेपछि पौडेलको नेतृत्वमा संस्थापनइतर समूह निर्माण भएको थियो । १४ औं महाधिवेशनमा पौडेल र देउवा समूहकै नाममा वडादेखि प्रदेशसम्म प्रतिस्पर्धा भएको थियो । महाधिवेशनमा भने आफ्नै समूहमा साझा उम्मेदवार बन्न नसक्दा पौडेल विरक्तिएका थिए । आफ्नो समूहबाट उम्मेदवार बनेका कोइराला र प्रकाशमान सिंहको पक्षमा उनी खुलेनन् । पौडेल मौन बस्दाको लाभ देउवाले लिए । उवाले शनिबार पहिलो चरणमा पौडेलसहित १० जना र आइतबार थप ३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरे । मनोनयनपछि सोमबार बसेको पहिलो बैठकमा देउवाले पौडेललाई दोस्रो वरीयतामा राख्दै पार्टीमा सम्मानजनक भूमिका दिन खोजेको सन्देश प्रवाह गरेका छन् । अन्य वरिष्ठ केन्द्रीय सदस्यको वरीयता भने पदाधिकारीपछि निर्धारण गरिएको छ । कमजोर सम्हूलाई साथमा लिँदै बलियो समूहलाई दबाबमा राख्ने देउवाको पुरानै रणनीति हो । १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि उनले कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर पौडेल समूहलाई पेलेका थिए । महाधिवेशनको मुखमा तत्कालीन महामन्त्री शशांक कोइरालालाई समेत निकट बनाएर पौडेललाई आफ्नै समूहभित्र सानो घेरामा सीमित पारेका थिए ।
केन्द्रीय सदस्यमा मनोनीत वरिष्ठ नेताहरूका कारण सभापतिका निकटतम् प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता अझ तल धकेलिएको छ । पहिलो बैठकमा २० औं नम्बरमा रहेका उनी पछिल्लो वरीयतामा २७ औं स्थानमा पुगेका छन् । सभापति देउवापछि दोस्रो वरीयतामा रामचन्द्र पौडेललाई राखिएको छ । तेस्रो र चौथोमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा पाँचौं र छैटौंमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई राखिएको छ । सातौंदेखि चौधौंसम्म ८ जना सहमहामन्त्रीलाई राखिएको छ । सदस्यहरूमा सबैभन्दा माथि १५ औं वरीयतामा गोपालमान श्रेष्ठ छन् । त्यसपछि क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालाई राखिएको छ । सोमबारको बैठकमा शेखरको वरीयता २७ औं नम्बरमा छ ।