Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । यहाँ सत्ताको सुरक्षाका लागि को कहाँ, कतिबेला मिल्न पुग्छ भन्ने कुरा पत्तो हुँदैन । त्यसैले त यहाँको गठबन्धन संस्कारले सार्थकता पाउन सकेको छैन । गठबन्धन गर्ने र धोका दिने शैलीकै कारण गठबन्धनप्रति त्यति विश्वस्त हुन सक्ने अवस्था छैन । ०८१ असार ३० पछि प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपीशर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नङ र मासुको जस्तै सम्बन्ध हुने दुवै दलका नेताहरूको दाबी गरे । कांग्रेस संस्थापनइतर पक्षका नेता डा। शेखर कोइराला र महामन्त्री गगनथापाले पनि पटकपटक ओलीको कार्यशैलीमाथि प्रश्न गर्दा देउवा ओलीको पक्षमा उभिन्थे । यतिमात्र हैन, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राजनीतिक संवाद गर्दा होस् या विभिन्न भेटघाटमा देउवा र ओली एकैसाथ प्रस्तुत हुने गरेका थिए । तर, आइतबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता प्रचण्डले देउवाको अनुपस्थितिमा भेटघाट गरे । उनीहरूको भेटघाटबारे प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमानपुन र ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए । प्रधानमन्त्रीको सचिवालय सदस्य प्रकाश सिलवालका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको दुई नेताको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको हो ।
तर, यो भेटपछि प्रचण्ड र ओलीको भावभङ्गिमा फरक देखिएको छ । भेटघाटपछि वर्तमान सत्ता गठबन्धनमा पनि केही हलचल पैदा भएको छ । किनकी सोमबार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच प्रतिनिधि सभा बैठकमा खासखुस भएको थियो । सम्भवतः १० महिनापछि ओली प्रचण्डसँग मुस्कुराउँदै हात मिलाएर भलाकुसारी गर्दैथिए । दुईजना बीचको यो भलाकुसारीको तस्बिर ओलीकै सचिवालयले मिडियासम्म पुर्यायो । यसअघि पनि प्रचण्डसँग निकटता बढ्दा ओलीको सचिवालयले यसैगरी तस्बिरहरू सार्वजनिक गर्ने गरेको थियो । हुन त दक्षिणी छिमेकी भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का नेता विजय चौथाइवालेको नेपाल भ्रमणपछि माओवादीसँग एमालेको सम्बन्ध सुधार भएको धेरैले आकलन गरेका छन् । यही प्रश्न सोमबार ओलीलाई पत्रकारहरूले संसद् भवन बाहिर गरेका थिए । तर, ओलीले सवालको जवाफ नदिएर रिसाए । तर, ओली र प्रचण्डको हाउभाउ हेर्दा भने देउवालाई बाइपास गरेर आफूहरू कुनै रूपमा अगाडि बढ्ने सङ्केत गरेको देखिन्छ । निहुँ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसीको भए पनि दुई शीर्षस्थ नेताबीचको भेटले सत्ता स्वार्थ झल्कियो ।
आइतबार एमाले सचिवालय बैठक बसेको थियो । बैठकमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले बोलेका थिए । त्यसपछि बोल्ने पालो उपाध्यक्ष सुरेन्द्र पाण्डेको थियो । पाण्डेले सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै गर्दा आफूसँग समय नभएको भन्दै प्रधानमन्त्री ओलीले बैठक रोक्न आदेश दिए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सङ्क्रमणकालीन न्यायसँग र केही राजनीतिक कुराकानीगर्न भेट गर्नुपर्ने बताउँदै बैठक टुङ्ग्याएका थिए । अन्य विषयमा भने सचिवालय बैठकमा ओलीले केही जानकारी गराएनन् । तर कांग्रेस नेताद्वय गगन र शेखरको अभिव्यक्तिबारे भने केही असन्तुष्टि जनाएका थिए । उनले नेताहरूलाई वर्तमान सत्ता गठबन्धन र सरकारको विषयमा पनि जथाभाबी बोल्दै नहिँड्न सुझाव दिए । बैठकमा ओलीको प्रस्तुती अन्य दिनभन्दा फरक देखिएको नेताहरूको दाबी छ ।
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल
२०८२ बैशाख २४
ताजा नेपाल