Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । को कहाँ कतिखेर मिल्न पुग्छन् भन्ने पत्तो हुँदैन । नेपाली कम्युनिस्ट पार्टीले नेपाली कांग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई बाहिर राखेर मधेस प्रदेशमा मंसिर १९ गते कांग्रेस नेतृत्वको सरकार गठन भएपछि सहकार्यको सुरुवात भइसकेको नेकपाका नेताहरू बताउँछन्। मधेसमा कृष्ण यादव नेतृत्वको सरकारलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। मधेसबाट अघि बढेको सहकार्य अन्य प्रदेशमा विस्तार गराउन अब छलफल हुने नेकपाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। यद्यपि, मधेसमा जस्तै सहकार्यको वातावरण बन्नुपर्ने उनको भनाइ छ। अरु प्रदेशमा पनि कांग्रेससँग मिलेर जान सकिने उनको भनाइ छ। २०८१ असार १७ गते कांग्रेस र एमाले गठबन्धन बनेको थियो। तर, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले गठबन्धन सरकारलाई सत्ताच्युत गरिदिएको थियो। अब कांग्रेस नयाँ विकल्पमा अघि बढेको नेकपाका नेता हरिबोल गजुरेल दाबी गर्छन्। मधेसमा एमाले नेतृत्वको सरकार विस्थापित गरी कांग्रेस, नेकपा र मधेसी दलहरूको गठबन्धन सरकार बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए। उनले प्रदेश सरकारमा रहेको एमाले र कांग्रेस गठबन्धनको निरन्तरता, राष्ट्रिय सभाको चुनावमा सहकार्य लगायतका प्रस्ताव देउवासमक्ष राखेका थिए। तर, देउवाले प्रस्ट जवाफ दिइसकेका छैनन्। यता, नेकपा भने कांग्रेसलाई आफूतिर तान्ने कोसिस गरिरहेको छ। प्रदेशहरूमा कांग्रेस–एमाले गठबन्धन भत्काएर कांग्रेस–नेकपासहितको गठबन्धन सरकार बनाउने मात्र होइन, राष्ट्रिय सभाको चुनावमा पनि कांग्रेस–नेकपा सहकार्य हुनसक्ने सम्भावनालाई नकार्न नसकिने नेकपाका नेताहरूको भनाइ छ। यद्यपि प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा कांग्रेस र नेकपा विपरित धारमा उभिएका छन्। कांग्रेस एमालेसँगै पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत गएको छ भने नेकपा फागुन २१ गते नै चुनाव हुनु पर्ने पक्षमा छ। अहिलेको यो मुख्य मुद्दामा समान धारणा नहुँदा राष्ट्रिय सभाको चुनावमा कांग्रेस–नेकपा गठबन्धन गर्ने र प्रदेशहरूमा पनि त्यही अनुसार गठबन्धन सरकार बनाउने नेकपाको प्रयास सार्थक हुन कठिन छ। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय सभा चुनावमा कुनै न कुनै दलसँग सहकार्य हुने बताए। प्रदेशहरुमा पनि अन्य दलसँग सहकार्य हुने उनको भनाइ छ। राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट १९ जनाको पदावधि समाप्त हुँदैछ। जसमा माओवादीका ७ र एकीकृत समाजवादीका २ जना गरी यो पार्टीका नौ जना छन्। प्रदेश सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले मत दिने भएकोले कांग्रेससँग मिलेर जान सके रिक्त हुने सबै पद जित्न सकिने नेकपाका नेता पाण्डे बताउँछन्। यद्यपि, यसबारे शीर्ष नेताले कांग्रेससँग कुरा गर्ने पाण्डेको भनाइ छ। नेकपाका शीर्ष नेताहरू प्रदेश एकता सभाका क्रममा छन्। केही दिनमा कांग्रेस सभापति देउवासँग छलफलको तयारी भइरहेको छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल