Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाले गरेनन् राज्यसँग आश

काठमाडौं । राजनीतिलाई पेशा होइन सेवा भनिन्छ तर हाम्रो देशमा राजनीति व्यवसाय बनेको छ । नियुक्तिमा मोलमोलाई गरी असुल्नेदेखि छिसिक्क टाउको दुख्दा नेताहरुका लागि करोडौं रकम राज्यकोषबाट असुल उपर गरिन्छ । यही देशका नागरिक सिटामोल र जीवनजलको अभावमा छट्पटाएर ज्यान फाल्न बाध्य छन् । राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको लामो सूची देखिएको छ । हुने खाने र ठूलाबडाले समेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने अपवाद देखिएका छन् ।
सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन । राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीदेखि प्रधानन्यायाधीशसम्मको लामै सूची छ । पूर्व राष्ट्रपति डा। रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ लिएका थिए । उपचार खर्च बापत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २६ लाख रुपैयाँ लिएका छन् । सदाचारी नेताका रूपमा चिनिएका पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले पनि १ करोड ८७ लाख रुपैयाँ लिएको देखिएको छ ।
पूर्व उपराष्ट्रपति परमानन्द झाले राज्यकोषबाट नौ लाख ३० हजार उपचार खर्च लिएका छन् । यस्तै पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले उपचार खर्च बापत ८० लाख रुपैयाँ लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष रहेका डा. तुलसी गिरीले उपचार खर्च बापत २० लाख बुझेका छन् ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि पाँच लाख रुपैयाँ लिएको देखिएको छ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उपचारका लागि राज्यकोषबाट ५० लाख रुपैयाँ लिएकी छन् । माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ३८ लाख रुपैयाँ लिएका छन् । कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले २७ लाख ८० हजार रुपैयाँ लिएका छन् ।
कांग्रेसकै नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काले २० लाख रुपैयाँ लिएका छन् । जसपाका नेता पूर्व मन्त्री महेन्द्रराय यादवले १४ लाख रुपैयाँ बुझेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका दर्जनौं सांसदले पनि राज्य कोषबाट उपचार खर्च लिएका छन् । राज्य कोषबाट अपारदर्शी ढंगले उपचार खर्च लिएको भन्दै राजनीतिक दलका नेताहरूको विरोध हुँदै आएको छ ।


सम्बन्धित समाचार