Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा किन गएनन् भारत ?

काठमाडौं । दक्षिणको छिमेकी भारत वर्तमान सरकारप्रति नरम बनेको छैन । बिहीबारमात्रै पूर्वप्रधानमन्त्री देउवाले पूर्वनिर्धारित भारत भ्रमणको कार्यक्रम अन्तिम समयमा रद्द गरेका छन् । भारतको उत्तर प्रदेश सरकारले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रममा उनी जाने कार्यक्रम थियो । आयोजकले कार्यक्रमको मुख्य वक्ताका रुपमा कांग्रेस सभापति देउवाको तस्बिरसहितको ब्यानरसमेत सार्वजनिक गरिसकेको थियो । उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका थियो । तर, सभापति देउवाले बिहीबार बिहानमात्रै भारत भ्रमण एकाएक स्थगित गरेका थिए । उनी एयर इन्डियाको जहाजबाट बिहीबार दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तालिका थियो । आखिर पूर्वप्रधानमन्त्री देउवाले किन नयाँ दिल्ली हुँदै प्रयागराज जान तय भएको कार्यक्रम रद्द गरे ? यसबारे कांग्रेस र उनको सचिवालयले प्रस्ट खुलाएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवाको भारत भ्रमण स्थगित भएको पुष्टिसम्म गरेका छन् । यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भ्रमण रद्द हुनुको कारणबारे सञ्चारमाध्यमलाई भनेका छन्, ‘प्रयागराजमा हुने सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । भिडभाड हुनेजस्ता कारणले नजाने निर्णय गरिएको हो ।’ तर, कांग्रेस स्रोत नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटवार्ता नहुने भएपछि सभापति देउवाले भ्रमण स्थगित गरेको बताउँछन् । आगामी प्रधानमन्त्रीका रूपमा हेरिएका सभापति देउवाले नयाँ दिल्लीसँग सम्बन्ध सुधार्ने चाहना राखे पनि भारतीय विदेशमन्त्री एस। जयशंकर र प्रधानमन्त्री मोदीलेसमेत भेट नदिने भएपछि भ्रमण रद्द गरेको स्रोतको भनाइ छ । ‘ओलीलाई सहयोग गरेपछि कांग्रेससँग मोदी रिसाएका छन् । देउवा निजी भ्रमणमा जान लाग्नु भएको थियो,’ कांग्रेसका एक नेताले खबरहबसँग भने, ‘निजी भ्रमण गए पनि राजनीतिक काम फत्ते गर्न खोजिएको हो । निजी भ्रमणमा जाँदा राजनीतिक काम नहुने देखिएपछि भ्रमण रद्द भएको हो ।’ कांग्रेसका अर्का नेता सत्ता गठबन्धनमा आशंका उत्पन्न हुन सक्ने आकलन गरेर सभापति देउवा पूर्वनिर्धारित तालिकाअनुसार प्रयागराज नगएको बताउँछन् । ‘सभापतिज्यू अहिलेको गठबन्धन तलमाथि नहोस् भन्नेमा हुनुहुन्छ,’ ती नेताले भने, ‘भारत पनि प्रधानमन्त्री ओलीसँग खुशी छैन । यस्तो बेला उता जाँदा गठबन्धनमा आशंका पैदा हुन सक्छ भनेर नजानुभएको होला ।’ तर, कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने यो तर्कमा सहमत छैनन् । ‘म अहिले सुनसरीमा छु । सभापतिज्यूको भ्रमण स्थगित भयो भन्ने खबर पाएँ,’ विश्वकर्माले खबरहबसँग भने, ‘तर, भारत जाँदा हाम्रो गठबन्धनमा के–के नै भइहाल्छ भन्ने होइन । हाम्रो गठबन्धन त्यति कमजोर छैन ।’


सम्बन्धित समाचार