Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा समूहको निष्कर्ष– गगन थापासँग सहमतिको सम्भावना सकियो

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापासँग पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।

देउवा समूहका शीर्ष नेताहरूको बैठक शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको थियो। बैठकमा बिपी स्मृति दिवसको तयारी, पार्टी एकताका लागि गठित समितिको प्रगति, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको थियो।

बैठकपछि नेता मीनबहादुर विश्वकर्माले पार्टी एकताको सम्भावना अत्यन्तै कमजोर बनेको निष्कर्ष निकालिएको र साउन २४ देखि २९ गतेभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको जानकारी दिए।

सभापति थापासँग सहमतिको सम्भावनाबारे उनले भने, “अब मिल्ने लक्षण ९९ प्रतिशत देखिँदैन।”

विश्वकर्माले संस्थापन पक्षबाट वार्ताका लागि कुनै गम्भीर पहल नभएको आरोप पनि लगाए। उनका अनुसार पटक–पटक छलफलको प्रतिबद्धता जनाइए पनि त्यसलाई व्यवहारमा कार्यान्वयन नगरिएको भन्दै संस्थापन पक्षमै एकताको इच्छाशक्ति नदेखिएको दाबी गरे।

उनले अब नयाँ राजनीतिक बाटोबारे तयारी सुरु हुने संकेत गर्दै नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, संगठनात्मक संरचना, विधान तथा पार्टी सञ्चालनको विधिबारे चरणबद्ध रूपमा निर्णय गरिने बताए।

नयाँ पार्टी गठनको सम्भावनाबारे सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले त्यससम्बन्धी सबै विषय प्याकेजमै टुंगो लगाइने उल्लेख गर्दै पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व र संगठनात्मक स्वरूपबारे पनि आगामी छलफलबाट निर्णय हुने बताए।