Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देवत्वकरणमा रमाएका कम्युनिष्ट !

 

ईश्वरी वाग्ले

कम्युनिष्ट पार्टी श्रमिक वर्गको हितमा हुन्छ । उसका कार्यक्रम नीति सबै जनतामा आश्रित हुन्छन् । समाजको तल्लो वर्ग जो शुद्ध श्रमिक छ श्रमकै भरमा उसको जीवन चल्छ । नेकपा त्यस्तो समूह र मध्यम वर्गसँग मिश्रण राजनीतिक दल हुनुपथ्र्यो । तर नेपाल त्यस्तो देश भयो । जुन देशका कम्युनिष्ट नेता जनताका छोराछोरीलाई आन्दोलनमा कुदाउँछन् र आफ्ना छोराछोरीलाई महंगा स्कुल र कलेजमा पढाउँछन् । खरिबको नामका सेवा सुविधा यिनैले प्रयोग गर्छन् । शिक्षा हाँसिल गर्ने, छात्रवृत्तिमा नेताकै सन्तान हुन्छन् । यहाँ पूर्व एमाले र माओवादी भन्ने छैन । माधव नेपाल, ईश्वर पोखरेल, वामदेव गौतम पहिले बदनाम भइसकेका हुन् । हल्ला नभएको मात्र हो देव गुरुङ, नेत्रविक्रम चन्द पनि यही मेसोमा पर्छन् ।
राज्यको श्रोतमाथि दोहन गर्दा पार्टी, सत्ता र राज्य सत्ताको प्रयोग गर्नेहरूले आफ्नो हिजोको हैसियत भुलेका छन् । काँग्रेसले देखादेख खाने घुस र एमालेले मिलाएर खाने घुसमा हिजो अन्तर थियो । आज दश वर्षे जनयुद्धका नायकहरू सडेगलेको अवस्थामा छन् । सत्ताका नाममा प्रचण्ड र ओलीको देवत्वकरण गर्दा आफ्नो धरालत बिर्सने ईश्वरहरूको संख्या बढ्दैछ । नेकपाको एकता प्रक्रिय सरकारको नीति तथा कार्यक्रम चले जस्तो बनाएर पार्टी र नेतृत्व खरानी बन्दैछ । प्रधानमन्त्री ओली गणतन्त्र, संघीयताको खान्दानी व्याख्याता बन्न सकेनन् । बरु गुटको व्याख्या गरेर संगठनको प्रतिष्ठा ध्वस्त बनाउने नायक बन्दैछन् । देशको स्थिति एकपछि अर्को गर्दै बिग्रँदै छ । परिवर्तनपछिको स्थिति सुधार गर्न समय लाग्छ । तर कर्मचारीकै विश्वास सरकारले गरेन । अहिले लोकसेवा आयोगलाई कमजोर बनाउने गरी संसदको राज्य व्यवस्था समिति नै लागेको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष दाहालले त्यो समितिका सदस्यहरूलाई लोकसेवाको गरिमा राख्न निर्देशन दिन सकेनन् । अर्थात् उनीहरू पनि स्थानीय तहमा कार्यकर्ता भड्काउनुभन्दा बरु लोकसेवा आयोग नै तहसनहस होस् भन्ने रुचि राख्छन् ? राज्यमाथि दोहन बढीरहेको छ ।
पार्टी एकता भएको दुई वर्ष पुग्न थाल्यो । एकताको काम कता कता ? प्रम ओलीलाई नीतिगत भ्रष्टाचारबाट धन जम्मा गर्नु छ । उनका सेनामेनाले देश लुटिरहेका छन् । अहंमताले ओलीको दिनदिनै क्रेज घट्दो छ । आफ्नो स्वार्थ नजोडिएको देशका कुनै पनि इस्युमा उनी चासो दिँदैनन् । कम्युनिष्ट पार्टीको वैचारिक धरातल खस्किँदा फाइदा लिने शक्ति काँग्रेस नै हो । त्यसको पनि यति बेला दरभाउ छैन । ओलीलाई बिगार्ने उनकै विज्ञ र सल्लाहकार समूह हो । सरकारले पार्टीलाई प्राथमिकता दिन्थ्यो भने पार्टीका सहयोगी समर्थकहरूले सरकारका कामप्रति जनमत सिर्जना गर्थे । अध्यक्ष ओलीलाई पार्टी र सहयोगी समर्थक चाहिएको छैन । राजनीतिमा ओली जस्तो फटाई गर्ने अरु नेता छैनन् । किनकि उनी जे बोल्छन् त्यो गर्दैनन् । जे बोल्दैनन् त्यो गर्छन् । आफैंले गरेको लिखित सम्झौतामाथि लात हान्छन् । यो उनको बहादुरी हो । एमालेकालमा यिनले प्रदीप नेपाललाई उपयोग गरे । प्रदिपको छुद्रताले धेरै मान्छे एमालेबाट भड्किए । अहिले प्रदीप नेपालको कार्यक्षेत्र सञ्जय थापामा केन्द्रीत छ । साहित्य विधामा बेला बखत उनी उदाउँछन् । प्रदीप र ईश्वरलाई जुधाउने काम यिनैले गरे । नवौं महाधिवेशनमा प्रतिनिधिहरूले विश्वास गर्न नसक्ने स्थिति आयो । प्रदीप माधव नेपालतिर टाँसिए । जसले त्यो विश्वास गरेकै थिएनन् । मौकामा चौका हान्न सिपालु पैसावाल नेता ईश्वर पाखेरेल झलनाथलाई लात हानेर रातारात ओली पक्षमा लागे । उनी दोस्रो पटक महासचिव भए । तर पार्टी एकतापछिको महासचिव भने हुन पाएनन् । अहिले पोखरेललाई अध्यक्ष ओलीले नै थचक्कै पारेका छन् । जबकि २०७५ जेठ २ गते पार्टी एकता घोषणाको अघिल्लोदिन अध्यक्षद्वय र विष्णु पौडेल, जनार्दन शर्माले गरेको हस्ताक्षरको सहमतिको बुँदाको पहिलो नम्बरमै जबज र २१औं शताब्दीको जनवाद मिलाएर समाजवाद उन्मुख जनवाद पार्टीको सिद्धान्त हुने उल्लेख भएको ज्ञान ईश्वर जस्ता चलाखहरूलाई भएन । ईश्वर पोखरेल आफैं पनि करप्टेड हुन् ।
उनले नेकपाको एकता प्रक्रिया सफल हुँदैनथ्यो भने काठमाडौं क्षेत्र नं. ५ बाट सांसद बन्ने स्थिति थिएन । अबको स्थितिमा यी यसरी नै नाँगिदै गए भने ओलीको देवत्वकरण गर्नुको अर्थ हुँदैन । राजनीतिमा धेरै पानी बग्छन् अपराधी दुनियाँकै भलो सधैं हुन्छ भन्ने अहंकार धेरै नगरे हुन्छ । पार्टी र सरकार एकै पटक सिध्याउँछु भन्दा आफैं नांगिएको थाहा नपाउनेहरूको हालत के हुन्छ भविष्यले बताउँछ । नेताहरूले आ–आफ्नै गुटबाट चलाएको देवत्वकरणलाई टीकाइराखे भने नेकपाको हालत के हुन्छ ? जबकी पार्टीलाई जिवीत राख्ने विद्यार्थी, युवा, किसान, मजदूरको शक्ति टाइफाइटले गलाएको रोगी जस्तो बन्दैछ । बुढाहरूको व्यवस्थापन छैन । जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटीको ठेगान छैन । सबैतिर आशै आश छ । तर नेकपाको नेतृत्वका दुई हस्ती कुल देवता बनेर आफ्ना हनुमानहरूको मुस्कान कुरिरहेका छन् ।