Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कुकुरको टोकाइबाट सर्ने रेबिज भाइरसविरुद्धको एन्टि–रेबिज भ्याक्सिन (एआरभी) देशभर अभाव भएको छ। सरकारले समयमै खोप खरिद गर्न नसक्दा सरकारी स्वास्थ्य संस्थाहरूमा खोपको चरम अभाव देखिएको हो।
हरेक वर्ष सरकारले करिब तीन लाखभन्दा बढी एआरभी खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर खरिद प्रक्रियामा भएको ढिलाइका कारण हाल देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा खोप अभाव भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत रेबिजविरुद्धको खोप अभाव देखिएको छ। दैनिक करिब दुई सय जना कुकुरले टोकेपछि खोप लगाउन आउने अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको चिकित्सकहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब पाँच लाख भायल एआरभी खोप खरिदका लागि गरिएको टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा खोपको मूल्य वृद्धि, डलर विनिमय दरमा भएको परिवर्तन तथा आपूर्तिसम्बन्धी समस्याका कारण पटक–पटक टेन्डर आह्वान गर्दा पनि खरिद प्रक्रिया प्रभावित भएको उनले बताए।
उनका अनुसार हाल आकस्मिक व्यवस्थापनका लागि विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा खोप उपलब्ध गराइएको छ। हालै ४ हजार ५ सय भायल एआरभी खोप नेपाल भित्रिएको र यसले सीमित अवधिसम्मको आवश्यकता पूरा गर्ने जनाइएको छ। साथै १७ हजारभन्दा बढी इम्युनोग्लोबुलिन खरिद प्रक्रिया पनि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज अत्यन्त घातक भाइरल रोग हो, जुन संक्रमित जनावरको टोकाइ वा घाउमा र्याल लाग्दा मानिसमा सर्छ। रेबिजको संक्रमण भएपछि मस्तिष्क र स्नायु प्रणालीमा गम्भीर असर पुग्ने र लक्षण देखिएपछि बिरामीलाई बचाउन लगभग असम्भव हुने उनले बताए।
उनले कुकुरले टोकेपछि सकेसम्म छिटो रेबिजविरुद्धको खोप लगाउनुपर्ने सुझाव दिए। ‘२४ घण्टाभित्रै खोप लगाउनुपर्छ भन्ने आम धारणा भए पनि जति सक्दो चाँडो खोप लगाए संक्रमण रोक्न सकिन्छ,’ उनले भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा रेबिजका कारण वार्षिक करिब एक सय जनाको मृत्यु हुने अनुमान छ। यद्यपि वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकअनुसार सन् २०२४ यता मात्रै रेबिजका कारण ४६ जनाको मृत्यु भइसकेको छ। चालु वर्षको पुसदेखि असारको पहिलो सातासम्म अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच जनामा रेबिज संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले आगामी आर्थिक वर्षदेखि रेबिजविरुद्धको खोप अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइने बताएका छन्।
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल