Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोषीलाई कारबाही गर्ने ठूलाबडाको प्रतिबद्धता

काठमाडौं । रुकुम घटनाले सभ्य भनिएको समाजलाई गिज्याइरहेको बेला गृहमन्त्री रामबहादुर थापाले रुकुम पश्चिम घटनामा सङ्लग्नलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उनले सरकार कानूनको कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सो घटनाको तीन तहबाट अनुसन्धान चलिरहेको बताए । सङ्घ, प्रदेश र स्थानीय तहबाट छानबिन भइरहेको छ, उनले भने, नेपाल प्रहरीका साथै गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा पनि अनुसन्धान भइरहेको छ । छानबिन अन्तिम चरणमा पुगेको पनि उनको भनाइ थियो । गृहमन्त्रीले छानबिन समितिको प्रतिवेदनपछि दोषीमाथि कडा कारबाही हुने र पीडितलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति दिइने बताए । कानूनको कार्यान्वयन गर्न थप कडाइ गर्ने उहाँको भनाइ थियो । गृहमन्त्रीले विगतको तुलनामा जातीय विभेदका घटना न्यूनीकरण गर्न सफल भएकोसमेत बताए ।
महान्यायाधिवक्ता अग्नि खरेलले अनुसन्धानमा महान्यायाधिवक्ताको कार्यालयको पूर्ण सहयोग हुने उल्लेख गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भनेर शङ्का नगर्न आग्रह गरे । गृहसचिव महेश्वर न्यौपानेले गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले त्यसबारेमा अनुसन्धान गरिरहेको बताए । सो सम्बन्धमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उहाँले घटनाको सत्यतथ्य अनुसन्धान गरेर अभियोजन प्रक्रियामा लैजाने बताए । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पीडित पक्षले २० जनाको नाममा जाहेरी दिएको र अनुसन्धानका लागि १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । सो प्रकरणमा सङ्लग्न भनिएको अन्य दुई जना फरार रहेको उहाँले जानकारी दिनुभयो । घटनाको गाम्भीर्यतालाई हेरेर प्रहरीको उच्च अधिकारीको नेतृत्वमा अनुसन्धान भइरहेको उनले बताए ।