Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धितोपत्र बोर्ड अध्यक्षको दौडमा को को ?

काठमाडौं । कुनै पनि नियुक्ति राम्रालाई होइन हाम्राले उछिट्याउने गरेका छन् । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढिसकेको छ। अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धा मार्फत अघि बढाएको हो।कात्तिक २५ गतेसम्म कार्य योजना सहित आवेदन दिन आह्वान गरिएको छ। मन्त्रालयले आवेदन माग गरेसँगै बोर्ड अध्यक्षको लागि आकांक्षी समेत देखिन थालेका छन्।आवेदन दिने तयारीमा लागेकाहरूमा नीरज गिरी,डा नवराज अधिकारी, चिरन्जिवी चापागाईँ,गोपाल भट्ट, गुणाकर भट्ट,चन्द्र सिंह साउद, सीताराम थपलिया र रमेशनाथ पाण्डेको नाम सबैभन्दा बढी चर्चामा छ। आवेदन दिन चाहने मध्ये हाल धितोपत्र बोर्डमै कार्यरत कार्यकारी निर्देशक नीरज गिरीले आवेदन दिने पक्कापक्की जस्तै देखिएको छ। उनी यस अघि पनि बोर्ड अध्यक्षका आकांक्षी थिए। यस अघि उनी अन्तिम तीन जनामा पुगेर फालिएका थिए। उनलाई निवर्तमान अध्यक्ष भीष्मराज ढुङ्गानाले पाखा लगाएका थिए। उनले २० वर्ष भन्दा बढी धितोपत्र बोर्डमै उच्च तहमा काम गरेको अनुभव बटुलेका छन्। अर्का आकांक्षीमा बोर्डकै उपकार्यकारी निर्देशक डा नवराज अधिकारी छन्। उनले पनि यस पटक बोर्ड अध्यक्षका लागि पुन आवेदन दिने तयारी गरेका छन्। यस अघि उनी पनि बोर्ड अध्यक्षको दौडमा थिए। उनी अन्तिम तीनमा पुग्नु अघि नै फालिएका थिए। तर यस पटक भने उनले राम्रै तयारी गरिएको बुझिएको छ। बोर्डमा लामो समय काम गरेको अनुभव बोकेका अधिकारीसँग राम्रो शैक्षिक योग्यता समेत रहेको छ। बिद्याबारिधिसम्मको शैक्षिक योग्यता र कामको अनुभव समेत रहेकोले सरकारले उनलाई नै बोर्ड अध्यक्षको जिम्मेवारी दिनेमा उनी ढुक्क छन्। यसपटक बोर्ड अध्यक्षका प्रवल दाबेदारमा नयाँ अनुहारहरू अघि आएका छन्। नयाँमा पनि शैक्षिक योग्यतासँगै आर्थिक क्षेत्रको राम्रो अनुभव समेत छ। यस्तै एउटा नाम हो, गोपाल भट्ट । विगत ३० वर्षदेखि शिक्षण पेशामा आवद्ध रहेका उनीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव समेत छ। त्यति मात्रै होइन उनले पूँजी बजारमै विद्यावारिधि समेत गरेका छन्। भट्ट यस पटकका सवैभन्दा शक्तिशाली प्रतिस्पर्धी रूपमा देखिएका छन्।
अध्यक्षको प्रतिस्पर्धा उत्रिने चाहना राख्नेमा गुणाकर भट्टको नाम पनि चर्चामा आएको छ। गुणाकर भट्ट र गोपाल भट्ट दुवै सहोदर दाजु भाइ हुन्। उनीहरू दुवैसँग नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभव छ। हाल गुणकर नेपाल राष्ट्र बैंकमै कार्यरत छन्। दुई दाजुभाइ मध्ये कसले आवेदन दिने भन्ने टुंगो नलागे पनि एकले आवेदन दिने पक्कापक्की भइसकेको छ। अर्का प्रतिस्पर्धीमा चिरन्जिवी चापागाईँको नाम अगाडि देखिएको छ। चापागाईँ बीमा समितिका निवर्तमान अध्यक्ष हुन्। उनी पनि बोर्ड अध्यक्षको प्रतिस्पर्धा उत्रिने तयारीमा छन्। उनीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभवसँगै बीमा समिति अध्यक्ष समेत भई सकेको अनुभव छ। उनी आफूलाई प्रबल दाबेदारको रुपमा देख्ने गर्छन्। नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत द्वय सीतारामा थपलिया र चन्द्र सिंह साउद पनि बोर्ड अध्यक्षको दौडमा उत्रिने भएका छन्। थपलिया यस अघि पनि अध्यक्षको दौडमा थिए। तर उनी सफल हुन सकेका थिएनन्। उनीसँग स्टक एक्सचेन्ज काम गरिसकेको अनुभव भएकोले पनि बोर्ड अध्यक्षको दौडमा उत्रिने तयारीमा रहेको बुझिएको छ। त्यसैगरी भर्खरै नेपाल स्टक एक्सचेन्जबाट राजीनामा दिएका चन्द्र सिंह साउद पनि अध्यक्षको दौडमा उत्रिने तयारीमा छन्।


सम्बन्धित समाचार