Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ दोषीको सजाय निर्धारण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १६ जनाको सजाय जिल्ला अदालत काठमाडौंले निर्धारण गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले दुई दिनको सुनुवाइपछि मंगलबार मुख्य दोषीलाई ४ वर्ष र मतियार ठहर भएकालाई २ वर्षसम्म कैद सजाय सुनाएको हो।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकिए पनि सबै अभियुक्तले एकीकृत कसुरअनुसार निर्धारण गरिएको सजाय मात्र भुक्तान गर्नुपर्नेछ।

यसअघि अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेपछि सजाय निर्धारणका लागि सोमबार पेसी तोकेको थियो। सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो र मंगलबार अन्तिम फैसला सुनाइएको हो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १० जना मुख्य दोषी ठहर भएका छन्। रायमाझीलाई ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको छ। सरकारी पदमा रहेको अवस्थालाई आधार मानेर उक्त कसुरमा थप ६ महिना कैदसमेत थपिएको छ। तर एकीकृत सजायअनुसार उनले ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्नेछ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तथा गोविन्दकुमार चौधरी (विक्रम) लाई पनि समान रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको छ। त्यस्तै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा र डा. इन्द्रजित राई लाई पनि एकीकृत कसुरमा समान सजाय सुनाइएको छ।

७५ वर्ष नाघिसकेका डा. इन्द्रजित राईले कानुनी व्यवस्थाअनुसार बाँकी कैदमध्ये ७५ प्रतिशत छुट पाउने भएका छन्। त्यसअनुसार उनले करिब दुई महिना कैद र ४० हजार रुपैयाँ जरिबाना भुक्तान गरेपछि रिहा हुन सक्नेछन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मतियारको रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना सुनाइएको छ। उनीमाथि ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा छुट्टाछुट्टै सजाय तोकिए पनि अन्तिम रूपमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना कायम गरिएको हो।

खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई एकीकृत रूपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना तथा ठगी उद्योग कसुरमा दोषी ठहर भएका बेचन झालाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना सुनाइएको छ।

सरकारी लिखत किर्ते मुद्दामा अधिकांश प्रतिवादीले सफाइ पाए पनि टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारी दोषी ठहर भएका छन्। उक्त कसुरमा रिजाललाई १ वर्ष तथा दुलाल र भण्डारीलाई २–२ वर्ष कैद तोकिए पनि उनीहरूले एकीकृत सजायअनुसारकै कैद भुक्तान गर्ने अदालतले जनाएको छ।