Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ नोट यहाँ यहाँ पाइन्छ

काठमाडौं । यसअघिका वर्षमा जस्तो ठूलो चाड दशैँका लागि नयाँ नोट साट्न यसपटक राष्ट्र बैंकमै जानुपर्ने बाध्यता हटेको छ। राष्ट्र बैंकका अनुसार नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाटै नयाँ नोट साट्न सकिनेछ। उपत्यकाभित्र सर्वसाधारणले नेपाल बैंकबाट न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिन सक्नेछन्। त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकबाट सिंहदरबार प्लाजा, सिंहदरबारपरिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट साट्न पाइनेछ। त्यस्तै कृषि विकास बैंकबाट गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले व्यवस्था मिलाएको छ।
त्यस्तै उपत्यकाबाहिरका सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट नयाँ नोट पाउनेछन्। यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक लिमिटेडका राष्ट्र बैंकको नोटकोष रहेका सबै शाखा कार्यालयहरुबााट समेत सुकिलो तथा सीमित मात्रामा नयाँ नोटहरु सटही गर्ने व्यवस्था मिलाएको केन्द्रीय बैंकले जनाएको छ। नयाँ नोट आगामी १० गतेदेखि १७ गतेसम्म वितरण गरिनेछ। सर्वसाधारणले पाँच रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका नयाँ नोट एकरएक प्याकेट गरे प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ। बडा दशैँमा साना दरका नयाँ तथा सुकिलो नोटको माग उच्च भएकाले यस्तो व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच, राष्ट्र बैंकले नयाँ नोटमा अबिर छर्किने, नखुम्च्याउने, नलेख्ने, केरमेट नगर्ने, नोटको आकार नबिगार्नेजस्ता कुराहरुमा सर्वसाधारणलाई सचेत गराएको छ। नोटको दुरुपयोग गरे कानुनबमोजिम कारबाही हुनेसम्मको व्यहोरा समेत राष्ट्र बैंकले अवगत गराएको छ।