Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नाच्दानाच्दै बामदेव एक्लिए

काठमाडौं । निष्ठाको होइन स्वार्थको राजनीतिमा केन्द्रीत भएर नाच्दानाच्दै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम एक्लिएका छन् । नेकपा विभाजनका सूत्राधार बनेका गौतमले अहिले आएर एमाले समेत परित्याग गरे । यतिबेला उनका पछाडि श्रीमती तुलसा थापाबाहेक कोही पनि छैन । अध्यक्ष केपी शर्मा ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन नसक्ने भन्दै उनले उपाध्यक्ष र पार्टीको सबै जिम्मवारीबाट राजीनामा दिएको पत्र पार्टी कार्यालयका सचिवलाई बुझाएका छन् । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, म आफैं संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाई‌का गलत विचार, प्रवृत्ति र शैलीका कारण रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु ।
राजीनामा पत्रका गौतमले एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । प्रधानमन्त्री भएपछि वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) को घोषणापत्रलाई पनि लागू नगरेको भन्दै उनले भनेका छन्, ‘तपाईंले गर्नुभएको कामहरुलाई पटक– पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।
जनताको बहुदलीय जनवाद तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुईतिहाइको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरीत संसद भंग गरेको गौतमको आरोप छ । एमालेमा अन्तरसंघर्ष चर्किरहेका बेला गौतमले पटकपटक माधव नेपालले पार्टी फुटाए साथ दिने अभिव्यक्ति दिएका थिए । नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् । तर लामो समय नेपालसँगै रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बस्ने निर्णयमा पुगेका छन् । गौतमले पनि बोली फेरेका छन् । उनले एकीकृत समाजवादीमा आउन शर्त अघि सारेका छन् ।