Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नायक–नायिकाको ध्यान व्यवसायतिर

नेपाली फिल्मका सेलिब्रिटीहरुलाई फिल्मलाई मात्र आम्दानीको श्रोत बनाएका छैनन् । केही सेलिब्रिटीहरु फिल्मसँगै अन्य व्यापार व्यवसायमा पनि जोडिएका छन् । पछिल्लो समयमा त रेष्टुरेण्ट व्यवसायमा नायक–नायिकाहरुको ध्यान बढी गएको देखिन्छ ।

‘ट्याग’मा व्यस्त पूजा

नायिका पूजा शर्माले ललितपुरको झम्सिखेलमा ‘ट्याग स्पोर्ट्स लाउन्ज एण्ड बार’ नामक रेष्टुरेण्ट साउनदेखि सञ्चालन गरिरहेकी छिन् । नेपाली फिल्म जगतकी चर्चित नायिका पूजाले ४ करोड माथिको लगानीमा भव्य रेष्टुरेण्ट संचालनमा ल्याएकी हुन् । रेष्टुरेण्टले छोटो समयमा नै पाएको सफलताले पूजा दंग छिन् । पूजाको यो रेष्टुरेण्टमा ग्राहकको फ्लो गजब छ । यसैले, पूजा फिल्म भन्दा बढी रेष्टुरेण्टमा केन्द्रित भएको देख्न सकिन्छ ।

रेष्टुरेण्टमा प्रदीपको लगाव

नायक प्रदीप खड्काले पनि फिल्ममा अभिनयसँगै रेष्टुरेण्ट व्यवसायमा हात हालेका छन् । प्रदीपले ३ बर्षदेखि काठमाडौंको गैरीधारमा ‘प्याराडाइज’ रेष्टुरेण्टमा लगानी गरेका छन् । यो रेष्टुरेण्टमा उनीसँगै उनका नजिकका साथीहरूको लगानी छ । प्रदीप फिल्मको छायांकन नभएको समयमा रेष्टुरेण्टमा नै बढी भेटिन्छन् ।

सफल उद्यमी बन्दै सञ्जोग कोइराला

यसैगरी, अर्का अभिनेता तथा निर्माता सञ्जोग कोइराला पनि सफल उद्यमीका रुपमा चिनिन्छन् । फिल्ममा अभिनय गर्न बाहेक सेयर बजारमा पनि उनी राम्रो दख्खल राख्छन् । कोइराला रेष्टुरेण्ट व्यवसायसँगै यूट्युबमा भिडियो निर्माण गर्छन् । उनले इन्टेरियर र कन्स्ट्रक्सन कम्पनी, ह्यास्ट्याग लाउन्ज, आइसक्रिम लाइभ पनि संचालन गरिसकेका छन् । यद्यपि सन्जोगको लगाव ‘चिया अड्डा’मा देखिने गरिएको छ । चिया पिउने स्थान ‘चिया अड्डा’ कोइरालाले करिब ४ वर्षअघि सुरु गरेका थिए । ‘चिया अड्डा’ काठमाडौंको नयाँ बानेश्वर, त्रिपुरेश्वर लगायतका स्थानमा पनि संचालित छ । सञ्जोग र उनकी श्रीमती नायिका वर्षा राउतको लगानी दरबारमार्गमा कोरियन रेष्टुरेण्ट छेजुदोमा समेत रहेको छ ।

छक्का पञ्जा सिरिजबाट सफल दीपक–दीपाको सिनेमा हल

दीपकराज गिरी–दीपाश्री निरौलाको जोडी फिल्म निर्माणमा सफल भए । सिरियलदेखि फिल्म निर्माणमा सफलता कमाएपछि उनीहरू सिनेमा हल संचालनमा अगाडि आएका छन् । यो जोडीले हालसालै नयाँ बानेश्वर चोकमा ‘आईएनआई सिनेमाज्’ संचालनमा ल्याएका छन् । उनीहरूले करिब १० करोड रूपैयाँ खर्चिएर भदौ २९ गतेदेखि सिनेमा हल खोलेका हुन् ।

व्यस्त अभिनेता दयाहाङले गरे रेष्टुरेण्टमा लगानी

अहिलेका सफल नायक दयाहाङ राईले पनि अभिनय बाहेक व्यवसायका लागि पनि समय निकाल्ने गरेका छन् । अभिनयमा नै अत्यन्त व्यस्त रहेपनि उनले व्यापारमा लगानी गरेका छन् । लेञ्चा खिम रेस्टुराँ एन्ड मुकुन्डो बार नामको रेष्टुरेण्टमा दयाहाङ मात्र नभएर सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ र मण्डला थिएटरका अन्य १३ जनाको लगानी छ ।

फिल्म भन्दा व्यवसायमा हिट स्वेता

नायिका स्वेता खड्कालाई फिल्म क्षेत्र भन्दा पनि व्यवसायमा सफल मानिन्छ । स्वेताको लगानी रेष्टुरेण्ट लगायत अन्य धेरै स्थानमा छ । दरबारमार्गको राइजिङ मल र बालुवाटारमा हिमालयन जाभा संचालनमा ल्याएकी स्वेताले एमआरएस एन्ड इन्जिनियरिङ प्रालि र होटेलमा समेत लगानी गरेकी छन् ।

साम्राज्ञीको प्याप बाई एसआरएलएस

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि आफ्नै व्यवसायको थालनी गरेकी छिन् । प्याप बाइ एसआरएलएस नामको बुटिक उनले सुरुवात गरेकी हुन् । यस नामको इन्स्टाग्राम पेजमा उनी मोडलका रुपमा विभिन्न पहिरनमा देखिन्छिन् । उनले अनलाइनबाट पहिरन बेचिरहेकी छिन् । साम्राज्ञीको व्यस्तता फिल्ममा कम, अनलाइन व्यवसायमा बढी देखिन्छ ।

सलिनमान बनियाँले खोले कोरियन रेष्टुरेण्ट

‘ए मेरो हजुर २ र यात्रा’ फिल्ममा अभिनय गरेका नायक सलिनमान बनियाँले पनि कोरियन रेष्टुरेण्टमा लगानी गरेका छन् । काठमाडौं स्थित वसन्तपुरमा कोरियन किनी नामक रेष्टुरेण्टमा उनले पैसा खर्चिएका हुन् । असोज महिनादेखि उनले केही साथीहरूसँग मिलेर उक्त रेष्टुरेण्ट संचालन गरेका हुन् ।

सुन्दरी नायिका सन्ध्या केसीको साल्ट

यस्तै, अर्की सुन्दरी नायिका तथा मोडल सन्ध्या केसी पनि हाल व्यवसायमा व्यस्त छिन् । केही दिन अघि मात्रै उनले विभिन्न सेलिब्रेटिजका साथमा साल्ट नामक क्लोथिंग स्टोरको कुमारीपाटि स्थित नयाँ शाखाको उद्घाटन गरेकी थिइन् । साल्टको पहिलो स्टोर लाजिम्पाटमा रहेको छ ।

यी बाहेक अन्य थुप्रै फिल्मीकर्मीहरुले पनि विभिन्न व्यवसायमा हात हालिरहेका छन् । कतिपयले फिल्मसँगै अन्य व्यवसायमा लगानी गरेर राम्रो रकम कमाइरहेका छन् ।


सम्बन्धित समाचार