Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निदान हस्पिटलले तिरेन ५५ लाख घरभाडा, घरधनीद्वारा खाली गर्न निर्देसन

पुल्चोकमा रहेको निदान हस्पिटलले सम्झौताअनुसार घरधनीलाई घर भाडा नबुझाएपछि ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ।

दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिएको निदान हस्पिटलले २०७९ फागुनदेखि २०८० कात्तिकसम्म ५५ लाख ५१ हजार रुपैयाँ घरभाडा नबुझाएको घरधनी मीना श्रेष्ठद्‍वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निदानले मीनाका पिता इन्द्रमान जोशीसँग २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो। जोशीको निधनसँगै उक्त सम्पत्ति छोरी मीनाको नाममा नामसारी भइसकेको छ। तर, हस्पिटलले पटक पटक सम्झौता उल्लंघन गर्दै घरभाडा नबुझाएको आरोप मीनाको छ।

अब उप्रान्त भाडामा दिने नदिने भन्ने विषय मेरो निजी हक अधिकारको विषय भएकाले बक्यौता रकम तथा सोको कानुन बमोजिमको ब्याज तथा मनासिव क्षतिपूर्ति उपलब्ध गराई ३५ दिनभित्र घरजग्गा खाली गराइदिन र घरबहाल सम्झौता पत्रसमेत रद्द भएको व्यहोरा २०८० कात्तिक २० गते हस्पिटलको तथा संचालकहरुको आधिकारिक इमेलमा पठाइएको छ, विज्ञप्तिमा उल्लेख छ।

साथै उक्त पत्र हस्पिटलमा बुझाउन जाँदा बुझ्न इन्कारी गरेपछि हुलाकमार्फत पठाउँदासमेत अटेरी गरिएको मीनाको आरोप छ। हस्पिटललाई इमेलमार्फत दिइएको ३५ दिने सूचना मंसिर २४ गते सकिँदै छ। तर, श्रेष्ठले मंसिर १२ गतेदेखि थप ३५ दिनको समय उपलब्ध गराएको भन्दै उक्त समयभित्र भाडा रकम, ब्याज र क्षतिपूर्ति उपलब्ध गराइदिन आग्रह गरेकी छन्।

नेपाल प्रहरीले ४ वर्षअघि निदान हस्पिटलका सीइओसहित चारजना उच्च अधिकारीहरुलाई अवैध मृगौला प्रत्यारोपण गराएको आरोपमा पक्राउ गरेको थियो। यसका साथै निदानमा कार्यरत वरिष्ठ चिकित्सक डा. आइएल आचार्यको २०७८ जेठ २ गते निमोनियाका कारण निधन भएसँगै निदान हस्पिटलको व्यापार र विश्वास थप ओरालो लाग्न थालेको बताइन्छ।